काठमाडौं । आईसीसी टी–२० विश्वकपअघिको दोस्रो वार्मअप खेलमा ओपनर आशिफ शेखले उत्कृष्ट अर्धशतकको मदतमा नेपालले क्यानडामाथि सानदार जित दर्ता गरेको छ । चेन्नईको एमए चिदम्बरम क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले क्यानडालाई ६ विकेटले स्तब्ध पारेको हो ।
क्यानडाले दिएको १६२ रनको लक्ष्यलाई नेपालले १८ ओभरमै मात्र ४ विकेट गुमाएर पूरा गर्यो। नेपालको जितमा ओपनर आशिफ शेखले उत्कृष्ट प्रदर्शन गरे। उनले मात्र २९ बलमा ५८ रनको विष्फोटक इनिङ खेले, जसमा ६ चौका र ३ छक्का सामेल थिए। अर्धशतक पूरा गरेपछि अन्य ब्याटरलाई मौका दिन उनी ‘रिटायर्ड आउट’ भएर मैदान बाहिरिएका थिए।
मध्यक्रममा सन्दीप जोराले ३० बलमा ४४ रन जोड्दै नेपालको इनिङलाई अघि बढाए। त्यस्तै, गुल्सन कुमार झाले ३१ रनमा अविजित रहँदै टोलीलाई जितको रेखासम्म पुर्याए। कप्तान दिपेन्द्र सिंह ऐरी ९ रनमा अविजित रहे।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६१ रन जोडेको थियाे । क्यानडाका लागि ओपनर नवनीत धालीवालले सर्वाधिक ४१ रन बनाए। उनले ३६ बलको सामना गर्दै इनिङ्सलाई सम्हालेका थिए। खेलको अन्त्यतिर श्रेयस मोभाले आक्रामक ब्याटिङ गर्दै मात्र १९ बलमा नटआउट ३८ रन जोडेपछि क्यानडा सम्मानजनक योगफलसम्म पुगेको हो। त्यस्तै, कँवरपाल ताथगुरले २५ र जसकरण बुट्टरले २१ रनको योगदान दिए।
नेपालका लागि बलिङतर्फ कुशल भुर्तेल र सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरे। दुवैले समान २–२ विकेट लिए। भुर्तेलले ताथगुर र निकोलस किर्टनलाई आउट गरे भने लामिछानेले धालीवाल र हर्ष थाकरको विकेट लिए। त्यसैगरी सोमपाल कामी र नयन यादवले १–१ विकेट चट्काए।
यसअघि मङ्गलबार नेपालले पहिलो वार्मअप खेल सोही मैदानमा युएईलाई सात विकेटले पराजित गरेको थियो । नियमित कप्तान रोहित पौडेल क्याम्टेन्स मिटमा सहभागी हुन मुम्बइ गएपछि दिपेन्द्रले आजको खेलको कप्तानीको अवसर पाएका थिए ।































प्रतिक्रिया