काठमाडौं । ओपनर टिम साइफर्टको अर्धशतकमा न्युजिल्यान्डले आईसीसी पुरुष टी२० विश्वकप २०२६ मा विजयी सुरुवात गरेको छ । चेन्नईको एमए चिदम्बरम स्टेडियममा भएको आफ्नो पहिलो खेलमा न्युजिल्यान्डले अफगानिस्तानमाथि ५ विकेटको जित दर्ता गरेको हो ।
न्युजिल्याण्डले १८३ रनको लक्ष्य १३ बल बाँकी छँदै सफलतापूर्वक पछ्यायो। लक्ष्य पछ्याउन मैदान उत्रिएको न्युजिल्याण्डको सुरुवात निकै खराब रहेको थियो। मुजीब उर रहमानले दोस्रो ओभरमै फिन एलेन र रचिन रविन्द्रलाई लगातार बलमा आउट गर्दै न्युजिल्याण्डलाई दबाबमा राखेका थिए। तर, टिम साइफर्टले ४२ बलमा ७ चौका र ३ छक्कासहित ६५ रन प्रहार गर्दै इनिङलाई सम्हाले। उनलाई ग्लेन फिलिप्सले ४२ रन र मार्क च्यापम्यानले २८ रन बनाएर बलियो साथ दिए।
अन्त्यमा कप्तान मिचेल सान्टनर र डेरिल मिचेलले विष्फोटक ब्याटिङ गर्दै १७.५ ओभरमा टोलीलाई जित दिलाए।
अफगानिस्तानका स्पिनर मुजीब उर रहमानले ४ ओभरमा ३१ रन खर्चिएर २ महत्वपूर्ण विकेट लिए। कप्तान राशिद खान र अजमतुल्लाह ओमरजाईले १–१ विकेट लिए पनि न्युजिल्याण्डका ब्याटरहरूलाई रन गति रोक्न सकेनन्, विशेष गरी मोहम्मद नाबीको ओभरमा साइफर्टले विष्फोटक प्रहार गरेपछि खेल न्युजिल्याण्डको पक्षमा मोडिएको थियो।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८२ रन बनाएको थियो। अफगानिस्तानका लागि गुलबदिन नाइबले सर्वाधिक ६३ रनको योगदान दिएका थिए भने सदिकुल्लाह अतलले २९ रन जोडेका थिए।
न्युजिल्याण्डका लागि लोकी फर्गुसनले २ विकेट लिए भने म्याट हेनरी, जेकब डफी र रचिन रविन्द्रले १–१ विकेट हात पारे।































प्रतिक्रिया