काठमाडाैं । आईसीसी पुरुष टी-२० विश्वकपको समूह ‘सी’ अन्तर्गतको खेलमा स्कटल्याण्डले इटालीसामु विशाल लक्ष्य प्रस्तुत गरेको छ । कोलकाताको ऐतिहासिक इडेन गार्डेनमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले निर्धारित २० ओभरमा उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेटकाे क्षतिमा २०७ रन बनाएकाे हाे ।
स्कटल्याण्डका ओपनर जर्ज मुन्सेले उत्कृष्ट इनिङ खेल्दै टोलीलाई बलियो सुरुवात दिलाए। उनले ५४ बलमा १३ चौका र २ छक्काको मद्दतले ८४ रनको योगदान दिए। उनलाई ओपनर माइकल जोन्सले ३७ रन बनाएर साथ दिएका थिए। पहिलो विकेटका लागि यी दुई बीच १२६ रनको बलियो साझेदारी भएको थियो।
मुन्से आउट भएपछि क्रिजमा आएका ब्रान्डन म्याकमुलनले पारीलाई अझ आक्रामक बनाए। उनले मात्र १८ बलमा ४१ रन प्रहार गर्दै स्कटल्याण्डको स्कोरलाई २०० को पार लगाए । कप्तान रिची बेरिङटनले १५ रन जोडे। माइकल लिस्कले ५ बलमै २२ रन बनाए ।
विश्वकपमा डेब्यु गरिरहेको इटालीका बलरहरू आज निकै दबाबमा रहे । अलि हसनले ४ ओभरमा २१ रन खर्चेर १ विकेट लिए। अरु महंगा सावित भए । ग्रान्ट स्टुअर्ट, जेजे स्मट्स र थॉमस ड्राकाले समान १-१ विकेट हात पारे। खेलको बीचमा इटालीका कप्तान वेन म्याडसेन काँधको चोटका कारण मैदान बाहिरिनु परेपछि इटालीलाई थप दबाब परेको थियाे ।
नेपाल पनि यसै समूह ‘सी’ मा रहेकाले यो खेलको नतिजाले सुपर-८ को समीकरणमा ठूलो प्रभाव पार्ने देखिन्छ ।































प्रतिक्रिया