विश्वकप डेब्यूमै इटालीलाई धक्का, मैदानमै ढलेका कप्तान म्याडसनले सबै खेल गुमाउन सक्ने

विश्वकप डेब्यूमै इटालीलाई धक्का, मैदानमै ढलेका कप्तान म्याडसनले सबै खेल गुमाउन सक्ने

केन्द्रबिन्दु
36
Shares

काठमाडाैं । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ मा ऐतिहासिक डेब्यू गरिरहेको इटालीका लागि पहिलो खेल नै दुर्भाग्यपूर्ण सावित भएको छ । कोलकाताको इडेन गार्डेन्समा स्कटल्याण्ड विरुद्धको खेलको चौथो ओभरमै कप्तान वेन म्याडसन गम्भीर घाइते भई मैदान छाड्न बाध्य भएका हुन्।

स्कटल्याण्डको इनिङ्सको चौथो ओभरमा जर्ज मुन्सेको ‘पुल सट’ रोक्ने क्रममा ४२ वर्षीय म्याडसनले देब्रेतिर डाइभ हानेका थिए। अभ्यास पिचमा नराम्ररी बजारिँदा उनको देब्रे काँध खुस्किएको छ । उनी पीडाले छटपटाउँदै मैदानबाट बाहिरिएका थिए र तुरुन्तै अस्पताल लगिएको थियो। उनको अनुपस्थितिमा ह्यारी मानेन्टीले कप्तानी सम्हालेका छन्।

कप्तान घाइते भएको पीडामा रहेको इटालीमाथि स्कटल्याण्डका ब्याटरहरूले निर्मम प्रहार गरे। जर्ज मुन्सेको उत्कृष्ट ८४ रनको मद्दतले स्कटल्याण्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०७ रनको विशाल स्कोर खडा गरेको छ।

इटालीका लागि अली हसनले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए पनि अन्तिम ओभरमा २२ रन खर्चिनु टोलीका लागि महँगो सावित भयो ।

इटालीले आफ्नो दोस्रो खेल फेब्रुअरी १२ मा मुम्बईमा नेपाल विरुद्ध खेल्दैछ। कप्तान म्याडसनको चोट निको हुन कम्तीमा ७ देखि २१ दिन लाग्ने अनुमान गरिएको छ, जसले गर्दा उनले नेपाल विरुद्धको खेल गुमाउने लगभग निश्चित देखिएको छ। यो इटालीका लागि ठूलो क्षति हो किनभने म्याडसन टोलीका सबैभन्दा अनुभवी खेलाडी हुन्।

सन् १९८० मा क्रिकेट संघ गठन भएको इटाली ४५ वर्षपछि पहिलो पटक विश्वकप खेल्दैछ। क्रिकेटमा टाउकोको चोटबाहेक अन्य चोटमा ‘रिप्लेसमेन्ट’ ब्याटरले ब्याटिङ गर्न नपाउने हुनाले इटालीले आज १० ब्याटरका साथ मात्र जवाफी ब्याटिङ गर्नेछ।

Skip This
Skip This
Logo