काठमाडौं । सन् २०१४ मा पहिलोपटक आइसिसी टी–२० विश्वकपमा छनौट भएर अफ्गानिस्तान र हंगकंगलाई हराएर इतिहास रचेको नेपाली टोलीले त्यसयता विश्वकपका कुनै पनि खेलमा जित निकाल्न सकेको छैन । समग्रमा तेस्रो र लगातार दोस्रो पटक टी–२० विश्वकपमा छनौट भएको नेपालले जारी संस्करणमा पनि पहिलो खेलमा इङ्ल्याण्डसँग ४ रन र दोस्रो खेलमा इटालीसँग १० विकेटको लज्जास्पद हार व्यहोरेको छ ।
पहिलो खेलमा इङ्ल्याण्डसँग जित नजिक पुगेर हारेको नेपाली टोलीले बिहीबार सम्पन्न दोस्रो खेलमा इटालीसँग ब्याटिङ, बलिङ र फिल्डिङ सबै क्षेत्रमा चुक्याे । इटालीका लागि ओपनिङ ब्याटर तथा मोस्का दाजुभाई एन्थनी र जस्टिनले १२ दशमलब ४ ओभरमै नेपालले दिएको १२४ रनको विजयी लक्ष्य भेटाए । यो १२४ रनको अविजित ओपनिङ साझेदारी इटालीको विश्वकप इतिहासकै कुनै पनि विकेटका लागि सर्वाधिक हो ।
इटालीका लागि एन्थनी मोस्काले ६ छक्का र ३ चौकाको मद्दतमा ६२ रन बनाए भने जस्टिन मस्काले ३ छक्का र ५ चौकाको मद्दतमा ६० रन बनाएर नेपालविरुद्ध सहज जित निकाल्न सफल रहे । नेपालविरुद्ध १० विकेटको जित निकाल्ने क्रममा मोस्का दाजुभाई दुबैले खेल सकिन ४४ बल अघि नै अर्धशतक बनाएर जितको आधार तय गरेका थिए ।
टी–२० विश्वकपको पहिलो डेब्यु खेलमा स्कटल्यान्डविरुद्ध जस्टिन मोस्का बिना रन शून्यमा आउट भएका थिए भने एन्थनी मोस्का १३ रन बनाएर आउट भएका थिए । तर आज नेपालीविरुद्ध अभूतपूर्व प्रदर्शन गरे । मोस्का दाजुभाई दुवै सिड्नीको मोरबैंक क्षेत्रमा हुर्केका इटालियन–अस्ट्रेलियन खेलाडी हुन् ।
उनीहरूका हजुरबुबा दोस्रो विश्वयुद्धपछि इटालीबाट अस्ट्रेलिया बसाइँ सरेका थिए । मोस्काको घरमा इटालियन फुटबल टिमको समर्थन थियो । एन्थनीले इटालियन लिजेन्ड पाउलो माल्डिनीको ठुलो समर्थक भएकाले जारी विश्वकपमा लामो कपाल पालेर खेलिरहेका छन् ।
बाल्यकालमा दाजुभाईले घरको फ्रन्टयार्डमा क्रिकेट खेल्थे । सोही क्रममा बल पर्खाल र बारमा ठोक्किँदा हजुरआमाले जुत्ता लिएर “चिभा लभोरारे” अर्थात काम गर्न जा भनेर खेदाउँथिन् । फुटबलप्रति निकै मोह भएपनि दुबै खेलाडीको क्रिकेट नै रोजे । सन् २०२० को सुरुतिर इटालीका अर्का खेलाडी बेन मानेन्टीले फोन गरेर दुबै दाजुभाईलाई इटालीका लागि खेल्ने मौका दिएता पनि कोभिड–१९ का कारण दुबै दाजुभाईले सन् २०२२ को जुलाई १२ मा मात्रै ग्रीसविरुद्ध टी–२० आईमा इटालीका लागि डेब्यु गरेका थिए ।
एन्थनी दायाँहाते टप–अर्डर ब्याट्सम्यान हुन् भने जस्टिन बायाँहाते टप–अर्डर ब्याट्सम्यान हुन् । दुवैले घरेलु क्रिकेटमा न्यू साउथ वेल्स र तास्मानिया प्रिमियर लिग खेलेका छन् । १० वर्ष कार्पेन्टर काम गरेका एन्थनी क्रिकेट बाहेक जुभेनाइल जस्टिस सेन्टरमा काठको काम सिकाउँछन् । जस्टिन भने स्कूलका फिजिकल एजुकेसन शिक्षक हुन् ।





























प्रतिक्रिया