काठमाडाैं । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को खेलमा आयरल्याण्डले ओमानमाथि ९६ रनको सानदार जित दर्ता गरेको छ।
नियमित कप्तान पल स्टर्लिङ घाइते भएपछि टोलीको कमाण्ड सम्हालेका लर्कन टकरको विष्फोटक ब्याटिङको मद्दतले आयरल्याण्डले विश्वकप इतिहासकै दोस्रो उच्च स्कोर खडा गर्दै ऐतिहासिक जित निकालेको हो।
कोलम्बोको सिंहलीज स्पोर्ट्स क्लब मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्डको सुरुवात निकै खराब थियो। ओमानका तीव्र गतिका बलर शकील अहमदले घातक बलिङ गर्दै पावरप्ले भित्रै आयरल्याण्डका माथिल्लो क्रमका ३ ब्याट्सम्यानलाई आउट गरी ४५/३ को स्थितिमा पुर्याएका थिए।
तर, कप्तान लर्कन टकर र ग्यारेथ डेलानीले १०१ रनको विशाल साझेदारी गर्दै टोलीलाई खेलमा फर्काए । टकरले ५१ बलमा १० चौका र ४ छक्काको मद्दतले अविजित ९४ रन बनाए, जुन यस विश्वकपको हालसम्मकै उच्च व्यक्तिगत स्कोर हो। अर्कोतर्फ डेलानीले ३० बलमा ५६ रनको अर्धशतकीय योगदान दिए।
खेलको अन्त्यतिर जर्ज डकरेलले अविश्वसनीय प्रदर्शन गरे। उनले मात्र ९ बलको सामना गर्दै ५ छक्का प्रहार गरी ३५ रन बनाए। उनकै विस्फोटक ब्याटिङका कारण आयरल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २३५ रनको विशाल योगफल तयार पार्न सफल भयो। यो यस विश्वकप २०२६ कै हालसम्मको उच्च स्कोर पनि हो।
यता २३६ रनको कठिन लक्ष्य पछ्याएको ओमानले सुरुवाती ओभरमा आक्रामक खेल्ने प्रयास गरे पनि नियमित अन्तरालमा विकेट गुमाउँदा दबाबमा पर्यो। ओमानका लागि आमिर कलिमले २९ बलमा ५० रन र हमाद मिर्जाले ४६ रनको योगदान दिए पनि अन्य ब्याट्सम्यान चल्न सकेनन्। ओमानको पारी १८ ओभरमा १३९ रनमा समेटियो।
आयरल्याण्डका लागि जोस लिटलले कसिलो बलिङ गर्दै ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए। त्यस्तै ब्यारी म्याकार्थी र म्याथ्यु हम्फ्रेजले २–२ विकेट चट्काए।































प्रतिक्रिया