तनहुँका युवामा ब्याडमिन्टन खेलको आकर्षण बढ्दो

तनहुँका युवामा ब्याडमिन्टन खेलको आकर्षण बढ्दो

केन्द्रबिन्दु
9
Shares

दमौली। तनहुँका युवामा ब्याडमिन्टन खेलप्रति आकर्षण बढेको छ । सदरमुकाम दमौली, शुक्लागण्डकी नगरपालिकाको दुलेगौंडा, खैरेनीटार, गाछेपानी, भिमाद नगरपालिकाको भिमाद बजार तथा म्याग्दे गाउँपालिकाको थर्पु र धयरेमा कभर्डहल निर्माण भएपछि युवाहरू यस खेलतर्फ आकर्षित भएका हुन् ।

बिहानदेखि बेलुकासम्म फुर्सदको समयमा युवाहरू समूह बनाएर ब्याडमिन्टन खेल्ने गर्छन् । आफूलाई स्वस्थ र तन्दुरुस्त राख्न सहज हुने भएकाले यो खेल पहिलो रोजाइ बन्दै गएको खेलाडीहरू बताउँछन् ।

चार जनाको जोडी बनाएर खेल्न सकिने र छोटो समयमा धेरै पसिना आउने भएकाले युवाहरूको आकर्षण बढेको प्रशिक्षक तथा खेलाडी विपीन घलेले बताए ।

स्थानीय तहको लगानीमा कभर्डहल बनेपछि वर्षा, घाम वा हावापानीको असर बिना खेल्न सकिने वातावरण बनेको खेलाडी तथा व्यास नगरपालिकाका योजना शाखा प्रमुख भेषराज तिवारीले बताए । व्यास नगरपालिका–१ का प्रदीप न्यौपानेले कार्यालय समयबाहेक नियमित रूपमा ब्याडमिन्टन खेल्ने गरेको बताए ।

ब्याडमिन्टन प्रतियोगितामा युवाको सहभागिता बढ्दै गएको छ । प्रतियोगितामा धेरै टिम सहभागी हुनुले खेलप्रतिको आकर्षण बढेको देखिएको खेलाडी रामकृष्ण क्षेत्रीले बताए ।

म्याग्दे गाउँपालिकाले थर्पुमा म्याटसहितको कोर्ट र धयरेमा कभर्डहल निर्माण गरेर खेल गतिविधिलाई निरन्तरता दिएको म्याग्दे गाउँपालिका–४ का वडाध्यक्ष दीपककुमार श्रेष्ठले बताए ।

Skip This
Skip This
Logo