भारतले जित्यो घरेलु मैदानमा टी–२० विश्वकपको उपाधि

भारतले जित्यो घरेलु मैदानमा टी–२० विश्वकपको उपाधि

केन्द्रबिन्दु
18
Shares

काठमाठौं। आइतबार अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा आयोजक भारतले न्युजिल्यान्डलाई ९६ रनको फराकिलो अन्तरले हराउँदै आइसीसी पुरुष टी–२० विश्वकपको उपाधि जित्यो।

यससँगै भारत लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक च्याम्पियन बनेको छ। घरेलु मैदानमा उपाधि जित्ने पहिलो राष्ट्रको रुपमा भारतको नाम लेखिएको छ। भारतले यसअघि सन् २००७ र २०२४ मा टी–२० विश्वकप जितेको थियो।

फाइनलमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २५५ रन बनायो। सञ्जु स्यामसनले ४६ बलमा ८ छक्का र ५ चौकासहित ८९ रन बनाए। इशान किशन ५४, अभिषेक शर्मा ५२ र शिवम दुबे २६ रन अविजित रहे।

जवाफमा न्युजिल्यान्ड १९ ओभरमा १५९ रनमा समेटियो। टिम सेइफर्टले २६ बलमा ५ छक्का र २ चौकासहित ५२ रन बनाए, कप्तान मिचेल स्यान्टनरले ४३ र ड्यारिल मिचेलले १७ रन जोड्दा अन्य ब्याटर दोहोरो अंकमा सीमित रहे।

भारतका जसप्रित बुमराहले ४, अक्षर पटेलले ३ तथा हार्दिक पान्डेय, वरुण चक्रवर्ती र अभिषेक शर्माले १–१ विकेट लिए। न्युजिल्यान्डका जिमी निशमले ३ तथा म्याट हेनरी र रचिन रविन्द्रले १–१ विकेट लिए।

न्युजिल्यान्डले पाँच वर्षपछि फाइनल खेले पनि उपविजेतामा सीमित रह्यो। भारतको घरेलु मैदानमा उत्कृष्ट प्रदर्शनले यस इतिहासिक जित सुनिश्चित गर्यो।

Logo