ढाका । बंगलादेश भ्रमणमा रहेको पाकिस्तान पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) खेलमा घरेलु टोलीको धारिलो बलिङसामु निरीह देखिएको छ। ढाकास्थित शेरे बंगला नेशनल स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तान ३०.४ ओभरमा मात्र ११४ रन बनाउँदै अलआउट भएको हाे ।
पाकिस्तानका लागि तल्लो क्रमका ब्याटर फहीम अशरफले सर्वाधिक ३७ रनको योगदान दिए। उनले ४७ बल खेल्दै ६ चौका र १ छक्का प्रहार गरे। त्यसैगरी ओपनर साहिबजादा फरहानले २७ रन र माज सदाकतले १८ रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
पाकिस्तानको मध्यक्रम पूर्ण रूपमा ध्वस्त हुँदा सलमान अघा, मोहम्मद रिजवान र अबरार अहमद जस्ता अनुभवी खेलाडीहरू सस्तैमा पेभेलियन फर्किएका थिए।
बंगलादेशका युवा तीव्र गतिका बलर नाहिद रानाले करियरकै उत्कृष्ट प्रदर्शन गर्दै पाकिस्तानको ब्याटिङ मेरुदण्ड भाँचे । उनले ७ ओभरमा मात्र २४ रन खर्चेर ५ विकेट लिए। कप्तान मेहदी हसन मिराजले पनि कसिलो बलिङ गर्दै १० ओभरमा २९ रन दिएर ३ विकेट हात पारे। बाँकी २ विकेट तस्किन अहमद र मुस्तफिजुर रहमानको नाममा रह्यो।





























प्रतिक्रिया