क्यानलाई एनपिएलबाट ९ करोड बढी नाफा

क्यानलाई एनपिएलबाट ९ करोड बढी नाफा

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारण सभा आगामी वैशाखमा विराटनगरमा आयोजना हुने भएको छ । चैत २३ गते बसेको क्यानको केन्द्रीय कार्यसमितिको बैठकले २०८३ वैशाख २७ र २८ गते (मे १० र ११, २०२६) कोशी प्रदेशको विराटनगरमा साधारण सभा गर्ने निर्णय गरेको हो।

क्यानले नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको आय-व्यय विवरण सार्वजनिक गरेको छ । जसअनुसार लिगबाट कुल ४७ करोड ३६ लाख रुपैयाँ आम्दानी भएको छ। खर्च कटाएर बचत भएको रकममध्ये ५० प्रतिशत (१६ करोड १८ लाख रुपैयाँ) आठवटा फ्रेन्चाइज टोलीलाई बाँडफाँड गरिएको छ। बाँकी ९ करोड २१ लाख २१ हजार ९३५ रुपैयाँ क्यानको खुद आम्दानी भएको विज्ञप्तिमा उल्लेख छ।

क्यानले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको सम्झौता अवधि थप गर्न र हाल राष्ट्रिय खेलकुद परिषद मातहत रहेको तल्लो मुलपानी क्रिकेट मैदान संघलाई हस्तान्तरण गर्न सरकारसँग अनुरोध गर्ने निर्णय गरेको छ। टीयू मैदानमा फ्लड लाइट जडान भइसकेको र अन्तर्राष्ट्रिय स्तरको पूर्वाधार विकास भइरहेकाले यसलाई निरन्तरता दिन क्यानले जोड दिएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी)को निर्देशन बमोजिम क्यानले अबदेखि महिला क्रिकेटको विकासका लागि वार्षिक ५ लाख अमेरिकी डलर लगानी गर्ने सुनिश्चितता गरेको छ। यसले नेपाली महिला क्रिकेटको व्यावसायिकता र पूर्वाधार विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

साथै कार्यकाल समाप्त भएका २० जिल्ला कार्यसमितिहरूको म्याद जेठ मसान्तसम्म थप गरिएको छ । विराटनगरमा हुने साधारण सभा सम्पन्न भए लगत्तै जेठ मसान्तभित्र ती जिल्लाहरूमा अनिवार्य रूपमा निर्वाचन सम्पन्न गरिसक्नुपर्ने निर्देशन क्यानले दिएको छ।

Skip This
Skip This
Logo