काठमाडौं। आईपीएल २०२६ मा शक्ति सन्तुलन नाटकीय रूपमा फेरिएको छ। एकातिर पञ्जाब किंग्स लगातार आक्रामक प्रदर्शन गर्दै शीर्ष स्थानमा जमेको छ भने अर्कोतिर मुम्बई इन्डियन्स लज्जास्पद रूपमा पुछारमा थन्किएको छ।
न्यू चण्डीगढमा आइतबार भएको खेलमा पञ्जाबले लखनऊलाई ५४ रनले ध्वस्त पार्दै सन्देश दिएको छ-यो सिजन उनीहरूको नियन्त्रणमा छ। २५४ रनको विशाल स्कोर खडा गर्दै पञ्जाबले प्रतिद्वन्द्वीलाई सुरुदेखि नै दबाबमा राख्यो। प्रियांश आर्य (९३) र कूपर कोनोली (८७) को विस्फोटक साझेदारीले खेल एकतर्फी बनायो।
२५५ रन पछ्याएको लखनऊले २०० रनमै सीमित हुँदै हार स्वीकार्न बाध्य भयो। कप्तान ऋषभ पन्तसहित केही ब्याट्सम्यानले संघर्ष गरे पनि पञ्जाबको आक्रामक खेलशैली अगाडि टिक्न सकेनन्।
उता, कोलकाताले अन्ततः जितको स्वाद चाख्दै राजस्थानलाई ४ विकेटले हरायो। तर यो नतिजाले सबैभन्दा ठूलो झट्का मुम्बईलाई लागेको छ। ५ खेलमा मात्र १ जित निकाल्न सकेको मुम्बई अहिले २ अंकसहित तालिकाको पुछारमा झरेको छ-जुन उनीहरूको लागि गम्भीर चेतावनी हो।
अहिलेको अवस्थामा पञ्जाब ११ अंकसहित स्पष्ट रूपमा शीर्षमा छ। बैंगलोर र राजस्थान समान ८ अंकका साथ पछ्याइरहेका छन् भने हैदराबाद, दिल्ली र गुजरात प्लेअफको दौडमा कडा प्रतिस्पर्धामा छन्।
अब सबैको नजर आज हुने गुजरात र मुम्बईबीचको खेलमा छ। पुछारमा पुगेको मुम्बईले आफूलाई जोगाउन ‘गर या मर’ को अवस्थामा मैदान उत्रिनुपर्नेछ।





























प्रतिक्रिया