चितवन। भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको काम अपेक्षाभन्दा ढिलो भइरहेको छ। ३० महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित २०८१ असारमा सुरु गरिएको परियोजनाको काम हालसम्म करिब ५० प्रतिशत मात्र पूरा भएको छ। कुल ७५ करोडभन्दा बढी लागतको यो रङ्गशाला २०८३ पुससम्म सम्पन्न गर्ने सम्झौता भए पनि प्रगति सुस्त देखिएको छ।
हाल एउटा टावरको काम लगभग सकिएको छ भने अर्को टावर र प्यारापिटहरूको काम आंशिक रूपमा मात्र अघि बढेको छ। मैदान निर्माण सुरु भए पनि पिच, बाटो र अन्य संरचना अझै निर्माणकै चरणमा छन्।
रङ्गशाला निर्माणका लागि संघीय, प्रदेश र स्थानीय सरकारबीच सहकार्य भए पनि बजेट व्यवस्थापन र कामको गति चुनौती बनेको छ। महानगरले काम छिटो अघि बढाउन निर्माण कम्पनीलाई निरन्तर ताकेता गरिरहेको जनाएको छ।
यसअघि धुर्मुस–सुन्तली फाउन्डेसनले सुरु गरेको परियोजना पूरा हुन नसकेपछि जिम्मा महानगरपालिकाले लिएको हो। अहिले पनि निर्माण समयमै सकिनेमा शंका कायमै छ।





























प्रतिक्रिया