दुई दशकपछि चम्किएको आर्सनल

दुई दशकपछि चम्किएको आर्सनल

केन्द्रबिन्दु
27
Shares

लण्डन । लण्डन क्लब आर्सनल दुई दशक लामो पर्खाइलाई अन्त्य गर्दै युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा स्पेनिस क्लब एथ्लेटिको म्याड्रिडलाई १–० ले पराजित गर्दै आर्सनलले ऐतिहासिक सफलता हात पारेको हो।

घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको उक्त प्रतिस्पर्धात्मक खेलमा बुकायो साका नायक बने। पहिलो हाफको अन्तिम समयमा लियान्द्रो ट्रोसार्डको प्रहारलाई एथ्लेटिकोका गोलकिपर जान ओब्लाकले बचाए पनि रिवाउन्डमा आएको बललाई साकाले पोस्टको दिशा दिएका थिए। यही गोल नै आर्सनललाई समग्रमा २–१ को जित दिलाउन निर्णायक सावित भयो।

आर्सनलको जितमा उसको ‘स्टिंजी’ रक्षापंक्तिको ठूलो हात रह्यो। यस सिजनको नकआउट चरणमा आर्सनलले आफ्नै मैदानमा कुनै पनि गोल खाएको छैन। खेलको ५१औँ मिनेटमा एथ्लेटिकोका जुलियानो सिमओनीले गोल गर्ने सुवर्ण अवसर पाएका थिए, तर आर्सनलका डिफेन्डर ग्याब्रियलको उत्कृष्ट रक्षात्मक कौशलका कारण उनले गोल गर्न सकेनन्।

ऐतिहासिक सिजनको संघारमा आर्सनल
सन् २००६ को फाइनलमा बार्सिलोनासँग पराजित भएयता आर्सनल पहिलो पटक उपाधि नजिक पुगेको हो। यो सिजन आर्सनलका लागि ‘ट्रेबल’ जस्तै महत्वपूर्ण सावित हुन सक्छ। क्लब अहिले च्याम्पियन्स लिगको उपाधिबाट मात्र एक खेल टाढा छ भने २२ वर्षपछि प्रिमियर लिग जित्नका लागि केवल तीन खेल बाँकी छ। म्यानचेस्टर सिटी एभर्टनसँग ३–३ को बराबरीमा रोकिएपछि आर्सनललाई घरेलु लिग जित्ने समीकरण अझ सहज बनेको छ।

आर्सनलले आगामी मे ३० मा हंगेरीको बुडापेस्टमा हुने फाइनल खेलमा साविक विजेता पेरिस सेन्ट जर्मेन वा बायर्न म्युनिख मध्ये एकको सामना गर्नेछ। यी दुई टोलीबीचको सेमिफाइनल निकै रोमाञ्चक मोडमा छ, जहाँ पहिलो लेगमा पीएसजी ५–४ ले अगाडि छ।

Logo