काठमाडौं । जर्मन क्लब फ्रेइबर्गविरुद्ध ३–० को सहज जित निकाल्दै इंग्ल्यान्डको एस्टन भिल्ला यूइएफए युरोपा लिगको च्याम्पियन बनेको छ ।
बुधबार टर्कीको इस्ताबुलमा एस्टन भिल्लालाई पहिलोपटक च्याम्पियन बनाउन युरी टिलेम्यान, इमिलियानो बुइन्डी र मोर्गन रोजर्सले समान एक गोल गरेका थिए । भिल्लाले पहिलो हाफमै दुई/दुई र दोस्रो हाफमा एक गोल गरेको थियो । खेलको ४०औँ मिनेटमा टिलेम्यानको गोलमार्फत एस्टन भिल्लाले अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा बुइन्डीले टोलीको अग्रता दोब्बर बनाए ।
रोजर्सले ५७औँ मिनेटमा गोल गर्दै एस्टन भिल्लालाई सहज जित दिलाए । यो एस्टन भिल्लाले ३० वर्षपछि ठूलो उपाधि उचालेको हो । यसअघि, टोलीले सन् १९९६ मा इङ्लिस लिग कप जितेको थियो ।
एस्टन भिल्लाले युरोपियन प्रतियोगिताको उपाधि भने ४४ वर्षपछि जितेको हो । टोली सन् १९८२ मा युरोपियन कप र सुपर कपको च्याम्पियन बनेको थियो ।
प्रशिक्षक उनाइ एमेरीका लागि भने यो पाँचौँ युरोपा लिग उपाधि हो । यसअघि उनले सेभियाका लागि तीन र भियारियालका लागि एक उपाधि जितेका थिए ।




















