काठमाडौं । सरकारले नेपाली खेलकुदमा पूर्वाधार लगानीलक्षित गरेर आर्थिक वर्ष २०८३/८४ को बजेट विनियोजन गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार संसद्मा प्रस्तुत बजेट भाषणमार्फत खेलकुद पूर्वाधारलाई प्राथमिकतामा राखेका थिए । उनले खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन गरेका छन् ।
गत वर्ष कुल बजेट ६ अर्ब ७ करोड ७४ लाख थियो, जुन युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको हो । यस वर्ष ४ अर्ब ३ करोडको बजेट खेलकुदका लागि मात्र विनियोजन गरिएको हो । त्यसअनुरुप खेलकुदको यो अहिलेसम्मकै सबैभन्दा ठूलो आकारको बजेट हो । नेपालले यस वर्ष २० औं एसियाली खेलकुदमा भाग लिनुपर्ने, १० औं राष्ट्रिय खेलकुद आयोजना गर्नुपर्ने भएकाले पनि बजेटको आकार ठूलो भएको हो ।
अर्थमन्त्री वाग्लेले खेलपूर्वाधारलाई युवा विकास र स्थानीय अर्थतन्त्रसँग जोड्दै आगामी ३ वर्षभित्र कम्तीमा ८ हजार दर्शक क्षमताका देशका १० वटा फुटबल रंगशालालाई फ्लडलाइटसहित स्तरोन्नति गरिने जनाएका छन् ।
हालै मात्र फुटबलको फ्रेन्चाइज लिग नेपाल सुपर लिग (एनएसएल) नयाँ स्वरुपमा हुने घोषणा गरिएको थियो । १० टिमसम्मले खेल्ने एनएसएल होम एन्ड अवे प्रणालीका आधारमा हुने जनाइएको थियो । त्यसका लागि काठमाडौंका दशरथ रंगशाला र पोखरा रंगशालामात्र तयार रहेको अवस्थामा अन्य प्रमुख क्षेत्रका फुटबल रंगशालाको स्तरोन्नति गर्न बजेट विनियोजन हुन लागेको हो ।
‘प्रमुख ८ सहरमा ५ वर्षभित्र आधुनिक क्रिकेट रंगशाला निर्माण गरिनेछ । विराटनगर, लहान, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत र धनगढीको फाप्लामा कम्तीमा २ हजार क्षमताको इन्डोर मल्टीप्रपोज स्टेडियम तीन वर्षभित्र निर्माण गरिनेछ,’ अर्थमन्त्री वाग्लेले भने, ‘मूलपानी क्रिकेट रंगशाला तथा एकेडेमी (काठमाडौं), गिरिजा प्रसाद कोइराला क्रिकेट रंगशाला (विराटनगर बैजनाथपुर) र फाप्ला क्रिकेट रंगशाला (धनगढी, कैलाली) को डिजाइन पुनरावलोकन गरी लगानी मोडालिटी तयार गरिने छ ।’





























प्रतिक्रिया