विश्वकप खेल्न इरानलाई भिसाकै समस्या

विश्वकप खेल्न इरानलाई भिसाकै समस्या

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । इरानको राष्ट्रिय फुटबल महासंघले टोलीको विश्वकप प्रशिक्षण शिविर एरिजोनाबाट मेक्सिकोको टिजुआनामा सारिएपछि प्रतियोगिताका लागि आवश्यक भिसा कहिले जारी हुन्छ भन्नेबारे फिफासँग स्पष्ट जानकारी मागेको छ ।

विश्वकपको तयारी स्वरूप टर्कीको अन्तालियामा शुक्रबार भएको मैत्रीपूर्ण खेलमा इरानले गाम्बियालाई ३–१ ले पराजित गर्‍यो । यसअघि मेक्सिकोका राष्ट्रपति क्लाउडिया शेनबाउम र फिफाको स्वीकृतिपछि इरानको आधार शिविर मेक्सिको सारिएको थियो ।

खेलमा गाम्बियाले पहिलो हाफमा ओमार कोलीको गोलमार्फत अग्रता लिएको थियो । तर, दोस्रो हाफमा आरिया युसेफीले बराबरी गोल फर्काएपछि रामिन रेजाइयान र मेहदी तारेमीले थप गोल गर्दै इरानलाई ३–१ को पुनरागमन जित दिलाए ।

इरानले समूह चरणका आफ्ना तीनै खेल अमेरिकामा खेल्ने तालिका छ । तर, फेब्रुअरी अन्त्यतिर अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि जुन ११ देखि जुलाई १९ सम्म हुने विश्वकपमा इरानको सहभागितामाथि नै प्रश्न उठ्न थालेको थियो ।

शिविर स्थानान्तरणसँगै कूटनीतिक तनाव र भिसा जटिलताका कारण इरानले अब लस एन्जलस र सियाटलमा हुने समूह ‘जी’का खेलहरू (न्युजिल्यान्ड, बेल्जियम र इजिप्टविरुद्ध) खेल्न मेक्सिको–अमेरिका सीमा पार गर्न विशेष अनुमति आवश्यक पर्ने भएको छ ।

इरानी फुटबल संघका प्रथम उपाध्यक्ष मेहदी मोहम्मदनबीले रोयटर्ससँग कुरा गर्दै इरानले फिफालाई भिसा प्रक्रियाको नतिजाबारे छिटो जानकारी दिन अनुरोध गरेको बताए ।

उनले भने, “हामीले आज फिफालाई इमेल पठाएर सकेसम्म छिटो नतिजा सार्वजनिक गर्न आग्रह गरेका छौँ । किनभने अब हामीलाई बहुप्रवेश मेक्सिकन भिसा र बहुप्रवेश अमेरिकी भिसा दुवै आवश्यक छ ।”

उनका अनुसार फिफासँगको पछिल्लो संवादमा प्रशासनिक प्रक्रिया सम्भवतः यही साताभित्र पूरा हुने जानकारी दिइएको छ । मोहम्मदनबीले टिजुआना प्रशिक्षण शिविरको प्रस्ताव फिफाले नै गरेको र इरानले त्यसलाई स्वीकार गरेको बताए ।

“यो शिविरको प्रस्ताव फिफाले गरेको हो, त्यसैले के भएको हो भन्ने फिफाले नै स्पष्ट गर्नुपर्छ,” उनले भने, “जे भए पनि हामीले टिजुआना शिविर स्वीकार गरिसकेका छौँ । टोली यात्रा गर्न तयार छ । मेरो विचारमा करिब एक साताभित्र यात्रा हुनेछ ।”

उनले समस्याको समाधान छिट्टै हुने विश्वास व्यक्त गरेका छन् । “हामी पनि यो अवस्थाले अचम्मित छौँ । यो समस्या छिट्टै समाधान होस् भन्ने आशा गर्छौं,” उनले भने, “राष्ट्रिय टोली र खेलाडीहरूको ध्यान अहिले केवल प्रशिक्षणमै केन्द्रित छ ।”

Logo