काठमाडौं । महिला साफ च्याम्पियनसिप फुटबलको नेपाल सेमिफाइनल नजिक छ । श्रीलंकासँगको खेलमा नेपाल विजयी भए सेमिफाइनलमा प्रवेश गर्नेछ ।
नेपालले भारत र बंगलादेशमध्ये एक टोलीसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नु पर्नेछ ।
नेपाली फुटबललाई एउटा अर्को के तथ्यमा विश्वास हुनुपर्छ भने श्रीलंकाविरुद्ध आफूअनुकूल नतिजा निकाल्न गाह्रो हुने छैन । अहिलेका लागि यो समूहमा भुटान दुई खेलबाट ३ अंकसहित अगाडि छ । एक खेल खेलेको नेपालसँग पनि ३ अंक छ । नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई १–० ले हराएको थियो ।
भुटानविरुद्धको यो जित एक प्रकारले संघर्षपूर्ण रह्यो । त्यसपछि भुटानले श्रीलंकालाई सजिलै ४–० ले हराएको थियो । श्रीलंका भने अंकविहीन छ । यस्तोमा यही श्रीलंकामाथि नेपालले जित अपेक्षा गर्न सकिन्छ । नेपाली प्रशिक्षक नवीन न्यौपोनले पनि भुटानविरुद्ध आफूले सोचेजस्तो जित हात नपरे पनि धेरै चिन्ता नलिन भनेका थिए । उनको तर्क थियो, गोवाको मौसमसँग अभ्यस्त हुनु अगाडि नै नेपालले पहिलो खेल खेल्नुपरेको थियो ।
अब भने टिमले पाँच दिनको आराम र प्रशिक्षण दुवै पाइसकेको छ । आइतबार नै लिग चरणको सबै खेल सकिनेछ । त्यस दिन दुईपल्टको डिफेन्डिङ च्याम्पियन बंगलादेश र भारत पनि भिड्ने छन् । त्यसै नतिजाले समूह ‘बी’ को विजेता निर्धारण गर्नेछ । अहिलेका लागि दुवै टिम सेमिफाइनल पुगिसकेका छन् । दुवैले माल्दिभ्सलाई हराएको थियो । त्यस अगाडि नेपालको सिधा नजर श्रीलंकाविरुद्धको खेलमै केन्द्रित हुनुपर्नेछ ।
यही खेलमा नेपालसामु प्रयोगको मौका पनि हुनसक्ने छ । सम्भवतः पहिलो हाफमा नेपालले जोखिम उठाउने छैन र सक्दो चाँडै अग्रताको प्रयास गर्नेछ । यो स्थिति तयार हुने हो भने नेपालले आफ्ना नयाँ खेलाडीलाई विश्वास गरेर फेरिएको टिम उतार्न सक्छ ।
महिला फुटबलमा नेपालका लागि श्रीलंका त्यस्तो टिम रहेको छ, जुन टिमविरुद्ध जति खेलियो, सबैमा जितमात्र हात परेको छ । नेपालले तीन प्रतियोगितामा गरेर अहिलेसम्म श्रीलंकाको दसपल्ट सामना गरेको छ । सबै १० खेलमा जित पनि हात पारेको छ ।
समूह ‘बी’ को पहिलो खेलमा भारतले माल्दिभ्सलाई सजिलै ११–० ले हराएको थियो । माल्दिभ्सका लागि यो अस्वीकार्य नतिजा थियो । तर यही टिमले बंगलादेशविरुद्ध भने उत्कृष्ट प्रदर्शन गरेको थियो । भलै, त्यो खेलमा ४–२ ले पराजित रह्यो । उनीहरूको तर्क छ, माल्दिभ्समाथि हात परेको जित सन्तोषजनक रहेन । अहिलेका लागि भारत र बंगलादेश दुवै टिम समान ३ अंकमा छ ।































प्रतिक्रिया