ओस्लो । विश्व फुटबलको सर्वोच्च संस्था (फिफा) ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दिइएको शान्ति पुरस्कारप्रति अनुसन्धान गर्न नर्वेजियन फुटबल महासंघ (एनएफएफ ) ले फिफाको इथिक्स कमिटीसँग आग्रह गरेको छ ।
फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले डिसेम्बर ६ मा भएको विश्वकप ‘ड्र’ का क्रममा पहिलो पटक शान्ति पुरस्कार ट्रम्पलाई प्रदान गरेका थिए । त्यसको केही समयपछि मानवअधिकार समूह फेयर स्क्वायरले फिफाको इथिक्स कमिटीमा अध्यक्ष इन्फान्टिनोले आफ्नो पदयीय मर्यादा उल्लंघन गर्दै ट्रम्पलाई सहयोग गरेको दाबीसहित उजुरी हालेको थियो ।
फिफाले के आधारमा ट्रम्पलाई शान्ति पुरस्कार दिइएको खुलाएको छैन । फिफाले ट्रम्पलाई त्यो समयमा शान्ति पुरस्कार दिएको थियो, जतिखेर ट्रम्प प्रशासनले ट्रम्पलाई नै नोबेल शान्ति पुरस्कार दिन बारम्बार दबाब दिइरहेको थियो ।
एनएफएफका अध्यक्ष लिज क्लाभेनेसले फिफा इथिक्स कमिटीमा नर्वे एक्लैले उजुरी गरेको जनाएका छन् । ‘मलाई लाग्छ अन्य देशका फुटबल संघले चाहने हो भने यसमा सहमति जनाउन सक्ने छन् । कसैलाई दबाब दिनु उचित नहुने हाम्रो निष्कर्ष छ, यसले झन माहोल अर्कै बनाउँछ,’ उनले भने ।
अमेरिकाले क्यानडा र मेक्सिकोसँग मिलेर ११ जुनदेखि १९ जुलाईसम्म हुने फिफा विश्वकप आयोजना गर्दै छ । यसलाई सफल बनाउन फिफा अध्यक्ष इन्फान्टिनोले खुला रूपमा ट्रम्पलाई अनुरोध गरेका छन् ।































प्रतिक्रिया