काठमाडाैं । पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो आफ्नो खेल जीवनको अन्तिम तथा ऐतिहासिक छैटौँ विश्वकपको संघारमा उभिएका छन्। सन् २००३ मा काजाकिस्तानविरुद्धको एउटा सामान्य मैत्रीपूर्ण खेलबाट सुरु भएको उनको अन्तर्राष्ट्रिय यात्राले पोर्चुगाली फुटबलको मानसिकता मात्र बदलेन, बरु एउटा सानो देशलाई विश्व फुटबलको महाशक्ति बन्न सक्ने विश्वास दिलायो।
तर, ४१ वर्षको उमेरमा आइपुग्दा उनै सर्वकालीन महान् खेलाडी टोलीका लागि शक्ति हुन् कि कमजोरी भन्ने गम्भीर प्रश्न उठ्न थालेको छ।
मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेज रोनाल्डोको बचाउमा सधैँ अघि सर्ने गर्छन्। उनले रोनाल्डोको हालैको तथ्याङ्कलाई मुख्य हतियार बनाउँदै पछिल्ला ३१ खेलमा २५ गोल गरेको रेकर्ड बारम्बार सम्झाउने गरेका छन्। मार्टिनेजको नजरमा रोनाल्डो विगतको विरासतका कारण नभई वर्तमानको उत्कृष्ट प्रदर्शनका कारण टोलीमा छन्।
पूर्व खेलाडीहरू पनि विश्वकप जस्तो दबाबयुक्त प्रतियोगितामा रोनाल्डोको मानसिक दृढता र अनुभव युवा खेलाडीका लागि मार्गदर्शक हुने विश्वास गर्छन्। उनको लोभलाग्दो गति केही कम भएको स्वीकार गरिए पनि उनको गोल गर्ने क्षमता र बक्सभित्रको उपस्थिति अझै पनि विपक्षीका लागि घातक मानिन्छ।
यद्यपि, पोर्चुगाली सञ्चारमाध्यम र पूर्व खेलाडीहरूको एउटा तप्का भने यो तर्कसँग सहमत छैन। कतिपय विश्लेषकहरूले रोनाल्डो अब टोलीलाई जिताउन भन्दा पनि आफूलाई मुख्य पात्र बनाउन केन्द्रित हुने गरेको आरोप लगाएका छन्। रोनाल्डो टोलीमा अनुपस्थित रहँदा पोर्चुगलले लक्जमबर्गविरुद्ध ९-० र आर्मेनियाविरुद्ध ९-१ को ऐतिहासिक जित निकाल्नुले पनि आलोचकहरूलाई बल पुर्याएको छ। उनीविना टोलीले बढी गतिशील र सामूहिक खेल प्रदर्शन गर्ने गरेको दाबी गर्नेहरूको सङ्ख्या कम छैन।
रोनाल्डोलाई टोलीबाट ड्रप गर्नु वा बेन्चमा राख्नु प्राविधिक निर्णय मात्र नभएर पोर्चुगाली फुटबलमा एउटा ठूलो भूकम्प सरह हुने गर्छ। कतार विश्वकपमा तत्कालीन प्रशिक्षक फर्नान्डो सान्तोसले उनलाई बेन्चमा राख्दा देश भित्र र बाहिर ठूलो आक्रोश पैदा भएको थियो, जसको केही समयमै सान्तोसले पद गुमाउनुपर्यो। मैदान बाहिर पनि पोर्चुगाली फुटबल महासङ्घ र रोनाल्डोको ब्रान्ड भ्यालु यसरी जेलिएको छ कि उनको विकल्प सोच्न पनि कतिपयलाई डर लाग्ने गर्छ। महासङ्घले रोनाल्डोपछिको भविष्यका लागि आफू तयार रहेको दाबी गरे पनि उनी राष्ट्रिय टोलीको केन्द्रविन्दुबाट हटेको क्षण कस्तो होला भन्ने संशय बाँकी नै छ।
जुन १७ मा प्रजातान्त्रिक गणतन्त्र कङ्गोविरुद्ध मैदान उत्रिँदा पोर्चुगलको सम्पूर्ण रणनीति ४१ वर्षीय कप्तानकै वरिपरि घुम्ने निश्चित छ। आफ्नो अन्तिम विश्वकपमा इयुसेबियोको नौ विश्वकप गोलको कीर्तिमान तोड्ने र पोर्चुगललाई पहिलो पटक विश्वकप ट्रफी दिलाउने सपना बोकेका रोनाल्डोका लागि यो प्रतियोगिता आलोचकहरूलाई मैदानबाटै जवाफ दिने अन्तिम अवसर हुनेछ। -बीबीसीबाट





























प्रतिक्रिया