काठमाडौं । उरुग्वेले दुईपटक मात्र फिफा विश्वकप जितेको छ । तैपनि, उनीहरूको जर्सीमा चारवटा तारा राखिएको छ । किन होला ? अधिकांश फुटबल समर्थकलाई यसकाे रहस्य थाहा नहुन पनि सक्छ ।
उरुग्वेले आफ्नो जर्सीमा ४ वटा तारा अंकित गराउनु कुनै घमन्ड वा डिजाइनको गल्ती नभएर फिफाले नै उनीहरुलाई ४ वटा तारा अंकित आधिकारिक जर्सी लगाउन मान्यता दिएको हो । सन् १९३० मा पहिलो फिफा विश्वकप आयोजना हुनुपूर्व ओलम्पिक नै सबैभन्दा ठुलो इभेन्ट हुने गर्थ्याे । पहिलो फिफा विश्वकप अघि फिफाले सन् १९२४ र सन् १९२८ को फुटबल प्रतियोगिता आफैँले आयोजना र नियमन गरेको थियो । उरुग्वेले ती दुवै प्रतियोगितामा स्वर्ण पदक अत्यन्त प्रभावशाली शैलीमा जितेर आफूलाई विश्व फुटबलको सर्वोच्च शक्तिका रूपमा स्थापित गर्याे । यिनै दुई उपलब्धिलाई औपचारिकता दिन फिफाले सन् १९२४ र १९२८ का ओलम्पिक विजेतालाई “विश्व च्याम्पियन” को मान्यता दिएको थियो ।
उरुग्वे फुटबल सङ्घले लामो समयदेखि आफ्ना ती चार उपाधि अर्थात सन् १९२४, १९२८, १९३० र १९५० लाई आफ्नो जर्सीमा चार ताराका रूपमा उल्लेख गर्ने फिफा सामु अडान राख्दै आएको थियो । त्यसैको निरन्तरता स्वरुप सन् १९९२ मा फिफाले नै उरुग्वेलाई औपचारिक रूपमा चार तारा राख्ने अनुमति दिएको हो ।
यसरी, जर्सीमाथिको हरेक ताराले उरुग्वेलाई फिफाद्वारा आधिकारिक मान्यता दिएको प्रतिकका रुपमा हेर्न थालिएको छ । यसर्थ उरुग्वेले दुई वटा विश्वकप मात्र नभएर दुई विश्वकप–पूर्व ओलम्पिक स्वर्णसमेत गरी फिफा–मान्यताप्राप्त चार पटक विश्व च्याम्पियन भएको विधिवत् प्रमाणका रुपमा आफ्नो जर्सीमा ४ वटा तारा अंकित जर्सी लगाउन थालेको हो ।
जुन ११ देखि उत्तर अमेरिकाको तीन राष्ट्र अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुन लागेकाे २३औं संस्करणकाे फिफा विश्वकप २०२६ मा समूह ‘एच’मा ।रहेकाे उरुग्वेसँग स्पेन, केप भर्डे र साउदी अरेबिया भिड्नेछन् । उरुग्वेले असार १ गते केप भर्डेसँग खेल्दै विश्वकपको सुरुवात गर्ने छ ।
अर्जेन्टिना र ब्राजिल विश्व फुटबलमा उदाउनुअघि साउथ अमेरिकामा उरुग्वेको वर्चश्व थियो । उरुग्वेले १९३० को विश्वकप फाइनलमा अर्जेन्टिना र १९५० को विश्वकपमा ब्राजिललाई हराएर आफूलाई उत्कृष्ट साबित गरेको थियो । तर, पछिल्लाे समयमा भने यो टिमले खासै उत्कृष्ट प्रदर्शन गर्न सकेकाे छैन ।
उरुग्वेको विश्वकप टोली
गोलरक्षक: सान्टियागो मेले, फर्नान्डो मुस्लेरा र सर्जियो रोचेत
रक्षक : रोनाल्ड अराउजो, सान्टियागो बुएनो, सेबास्टियन कासेरेस, जोसे मारिया जिमेनेज, माथियास ओलिभेरा, जोआक्विन पिक्वेरेज, गुइलर्मो भारेला र माथियास भिना
मिडफिल्डर : म्याक्सिमिलियानो अराउजो, जियोर्जियन डे अरास्काएता, रोड्रिगो बेन्टान्कुर, अगुस्टिन कानोबियो, निकोलास डे ला क्रुज, एमिलियानो मार्टिनेज, फाकुन्डो पेलिस्त्री, ब्रायन रोड्रिगेज, जुआन म्यानुअल सानाब्रिया, म्यानुएल उगार्टे, फेडेरिको भाल्भेर्डे र रोड्रिगो जालाजार
स्ट्राइकर : रोड्रिगो अगिरे, फेडेरिको भिनास र डार्विन नुनेज ।





























प्रतिक्रिया