लस एन्जलस । अमेरिकाले विश्वकपमा आफ्नो पहिलो खेलका लागि मैदानमा उत्रिँदा निश्चित जितको दबाबबाट गुज्रिनुपर्नेछ । अमेरिकाको प्रतिद्वन्द्वी छ, ‘अन्डर डग’ परिचय बनाएको पाराग्वे । जितबाहेक अन्य नतिजाले सह–आयोजक रहेको अमेरिकाको अर्को चरण पुग्ने अभियानमा धक्का पुग्न सक्नेछ । समूह ‘डी’ अमेरिका सबैभन्दा उच्च वरीयताको टिम हो, १७ औं स्थानको ।
अर्कोतर्फ पाराग्वे भने ४१ औं स्थानमा छ । अस्ट्रेलिया र टर्कीसम्मिलित पनि यस समूहमा पाराग्वे नै सबैभन्दा तल्लो वरीयताको टिम हो । त्यसमाथि यसपल्टको विश्वकपमा सहभागी संख्या ४८ रहेको आधारमा यो त्यसै पनि कमजोर टिमको परिचय बनाएर बसेको छ । तर धेरै फुटबल पण्डित के मान्छन् भने पाराग्वेली टिम आफैंमा बलियो छ । अहिलेका लागि अमेरिका लगातार दक्षिण अमेरिकी प्रतिद्वन्द्वीविरुद्ध लयमा छ ।
पाराग्वेविरुद्धका पछिल्ला तीन खेलमा अमेरिका विजयी छ । त्यसमध्ये पछिल्लो जित २–१ को रहेको थियो । एउटा ठूलै संयोग के पनि रहेको छ भने यी दुई टिमबीच सन् १९३० को विश्वकपमा पनि एकअर्काविरुद्ध खेलेका थिए । त्यसमा अमेरिका नै विजयी थियो । अमेरिकाको आक्रमण पनि आफैंमा बलियो छ । यो वेस्टन म्याककेनी, क्रिस्टियन पुलिसिच र फ्लोरिन बोलोगनमा निर्भर छ ।
आयोजकका रूपमा अमेरिकाले छनोट नै खेल्नुपरेको थिएन, तर त्यसको ठीक विपरीत पाराग्वेले असाध्यै कठिन दक्षिण अमेरिकी छनोट खेलेको थियो । छैटौं स्थानमा रहेर पाराग्वे विश्वकपका लागि स्वतः छनोट भएको थियो । सन् २०१० विश्वकपमा अन्तिम पटक खेलेको पाराग्वेले त्यतिबेला क्वाटरफाइनलसम्म यात्रा तय गरेको थियो । त्यहाँ च्याम्पियन बनेको स्पेनसँग पराजित भएको थियो ।
अमेरिकी टिमको चरित्रको ठीक विपरीत पाराग्वेको बलियो पक्ष भनेकै रक्षापंक्ति हो । त्यसैले यो खेल धेरै अर्थमा अमेरिकाको आक्रमण र त्यसविरुद्ध पाराग्वेको प्रतिरोध हुनेछ । छनोटमा पाराग्वेले १८ खेलमा १४ गोलमात्र गरेको थियो । यसले यो टिम कस्तो हो, स्पष्ट पार्छ । यस्तोमा टिमका मुख्य खेलाडी हुनेछन्, मिडफिल्डका डिएगो गोमेज । उनले नै गोलका लागि अवसर सिर्जना गर्नुपर्ने हुन्छ ।





























प्रतिक्रिया