जर्मनीको ‘पेन्टा’ सपना सामु डेब्यूटेन्ट कुराकाओको चुनौती, को कति पानीमा ?

जर्मनीको ‘पेन्टा’ सपना सामु डेब्यूटेन्ट कुराकाओको चुनौती, को कति पानीमा ?

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । फिफा विश्वकप २०२६ को समूह ‘एफ’ अन्तर्गत आज साँझ पौने १० बजे क्यालिफोर्नियाको लेभीज् रंगशालामा एउटा यस्तो भिडन्त सुरु हुँदैछ, जहाँ अनुभव र नयाँपन, पुनर्जागरणको भोक र इतिहास रच्ने हुटहुटी एकै मैदानमा भिड्नेछन् ।

एकातिर चारपटकको विश्वविजेता जर्मनी लगातार दुई संस्करणको समूहचरणबाट बाहिरिएको पीडालाई पन्साउँदै पाँचौं उपाधि अर्थात ‘पेन्टा’को आकांक्षाका साथ मैदान उत्रँदै छ भने अर्कोतिर कीर्तिमानी डच प्रशिक्षक डिक एड्भोकाटको मार्गदर्शनमा पहिलोपटक विश्वकप खेलिरहेको कुराकाओ आफ्नो पहिलो संस्करणमै गहिरो छाप छाड्ने दाउमा छ ।

सन् २०२३ मा हान्सी फ्लिकको बर्खास्तीपछि जर्मन फुटबल संघले युवा रणनीतिकार युलियन नागेल्समानलाई मुख्य प्रशिक्षकको जिम्मा दिएको थियो र उनकै नेतृत्वमा टोलीले छनोट चरणमा अपराजित यात्रा तय गरेको थियो । बायर्न म्युनिख, लाइप्जिग हुँदै राष्ट्रिय टोलीको कमान्ड सम्हालेका ३८ वर्षीय नागेल्समानका लागि मुख्य प्रशिक्षकको रूपमा यो पहिलो विश्वकप हो । अझ रोचक संयोग त के छ भने सन् २०१४ को विश्वकप जित्दा नागेल्समान होफेनहाइमको युवा टोलीका सहायक प्रशिक्षक थिए र अहिले आफैंले जर्मनीलाई पुनः त्यही उचाइमा पुर्याउने महत्वाकांक्षा बोकेर नेतृत्व आफ्नो हातमा लिएका छन् ।

विश्वकपअघि युरोपेली छनोटमा सहज यात्रा गरेको जर्मनीको प्रदर्शनले आशा जगाएको थियो तर चोटको सूचीले केही चिन्ता भने थपेको छ । टोलीको मुख्य गोलरक्षक म्यानुअल नोयर सन्न्यास फिर्फा गरेर टोलीमा फर्किसकेका छन् । मिडफिल्डर जामाल मुसियाला पिडौंलाको किरकिराबाट मुक्त भए पनिपूर्ण रूपमा लयमा फर्किसकेका छैनन् । तर फ्लोरियान भिट्र्ज र काइ हाभट्र्जको सिर्जनशील जोडी, अनुभवी जोशुआ किमिच र कप्तान इल्काए गुन्डोगानको मिडफिल्ड नियन्त्रण तथा डिफेन्समा एन्टोनियो रुडिगरको उपस्थितिले जर्मनीलाई सन्तुलित र आक्रामक बनाइरहेको छ ।

अर्कोतर्फ विपक्षी डगआउटमा रहेको कुराकाओ भने जर्मन टोलीका लागि कुनै सामान्य ‘ग्रुप स्टेज’ को विपक्षी मात्र पक्कै हुने छैन् । सन् २०२६ को कन्काकाफ छनोटमा प्लेअफ हुँदै कीर्तिमानी सफलता चुमेको यो सानो क्यारेबियन राष्ट्र अहिले विश्व फुटबलमा सबैभन्दा प्रेरणादायी ‘अण्डरडग’ का रुपमा उदाएको छ ।

नेदरल्यान्ड्स र बेल्जियमबाट जरा भएका खेलाडीले भरिएको यो टोलीमा अनुशासित डिफेन्स र तीव्र काउन्टर अट्याक नै मुख्य हतियार हो । टोलीका कप्तान तथा डिफेन्डर कुको मार्टिनाको नेतृत्वमा रक्षापंक्ति अनुभवी छ भने लिएन्ड्रो बाकुना र उनका भाइ जुनिन्हो बाकुनाको मिडफिल्ड जोडीले जर्मन लय भत्काउने माहिर रणनीति बुन्न सक्छ ।

अझ जर्मनीका लागि सबैभन्दा ठूलो खतरा अग्रपंक्तिका रान्जेलो याङ्गा र फर्वार्ड एन्थोनी भान डेन हुर्कको गतिशील जोडी हुनेछ, जसले कुनै पनि क्षण खेल पल्टाउन सक्ने तागत राख्छ । यति भनिरहँदा कुराकाओ पनि चोटबाट अछुतो भने पक्कै छैन । डिफेन्सिभ मिडफिल्डर भाउरिचियो भ्यान डोर्ने सस्पेन्सनमा छन् भने लेफ्टब्याक जुरियन गारी सामान्य मांसपेशी खिंचावका कारण पहिलो खेल खेल्छन् कि खैल्दैनन् भने आशंका छ ।

त्यसैगरी इतिहास हेर्ने हो भने जर्मनी र कुराकाओबीच यसअघि कुनै पनि प्रतियोगितामा भेट भएको छैन, जसले गर्दा यो भिडन्त दुवैका लागि पूर्ण अपरिचित चुनौती बनेको छ । तथापि, जर्मनीले साना राष्ट्रविरुद्ध विश्वकपमा उत्कृष्ट नतिजा निकाल्दै आएको छ । यस्तोमा कुराकाओ अब जर्मनीलाई विश्वकपमा झुक्याउने पहिलो नवआगन्तुक बन्न आतुर छ, र यसका लागि एड्भोकाटको युरोपेली रणनीति नै उसको हतियार हो ।

खासमा सन् २०२५ को एक मैत्रीपूर्ण खेलमा जर्मनीले कुराकाओलाई ५–० ले हराएको थियो, तर त्यतिबेला कुराकाओको टोलीले आफ्नो पूर्ण शक्ति प्रयोग गरेको थिएन, जसले आजको प्रतिस्पर्धालाई नयाँ र भिन्न आयाम दिनेछ । यस्तोमा आजको खेलको सबैभन्दा रोचक पक्ष जर्मन प्रशिक्षक नागेल्समानको आक्रामक पोसेसन शैली र एड्भोकाटको अनुभवी, कम्प्याक्ट र डिफेन्सिभ रणनीतिबीचको रस्साकस्सी हुनेछ ।

त्यस्तै आज जर्मनीको आक्रमणको धार भिट्र्ज, हाभट्र्ज र लेरोय सानेमाथि केन्द्रित हुनेछ भने कुराकाओको पाँच डिफेन्डरको पर्खाल चिर्न नागेल्समानले मिडफिल्डमा किमिचको बक्स–टु–बक्स गति र गुन्डोगानको अनुभव प्रयोग गर्ने अनुमान छ ।

समग्रमा जर्मनीसँग चार विश्वकपको गौरवशाली इतिहास र त्यसलाई पुनरुत्थान गर्ने मौका छ, तर पछिल्ला दुई संस्करणको पीडाले अझै पनि सावधानीको पाठ सिकाएको छ ।

कुराकाओसँग भने पहिलो पटक विश्वकप खेल्ने उत्साह र डेब्यूटेन्टको निडरता छ, जहाँ उनीहरु सामु हारको कुनै दबाब छैन । यस्तोमा जर्मनी बलियो दाबेदार भए पनि कुराकाओको ‘जायन्ट किलर’ बन्ने सपनाले ९० मिनेटको सङ्घर्षलाई कहिल्यै पूर्वानुमानित हुन दिनेछैन ।

नेपाली फुटबलप्रेमीहरूका लागि आइतबार साँझ पौने १० बजे सुरु हुने यो ऐतिहासिक भिडन्तले अनुभव र जोशबीचको उत्कृष्ट नमूना पस्कने पक्का जस्तै छ ।

Logo