बार्सिलोना । लामिन यामल १८ वर्षको उमेरमै स्पेनको राष्ट्रिय टिमका लागि विश्वकप जित्ने ठूलो जिम्मेवारी बोकेका छन्। उनको प्रतिभा, लोकप्रियता र विवादले उनलाई स्पेन र बार्सिलोनामा चर्चित बनाएको छ, र प्रशिक्षक तथा समर्थकहरू उनलाई भविष्यको स्टारको रूपमा हेर्छन्।
स्पेनले विश्वकपमा राम्रो प्रदर्शन गर्न यामलको उत्कृष्ट खेल आवश्यक छ भन्ने अपेक्षा गरिएको छ। उनकै काँधमा टिकेको छ, स्पेनको दोस्रो पटक विश्वकप जित्ने सपना । जतिबेला स्पेनले सोमबार विश्वकपको यात्रा सुरु गर्नेछ, उनी छवि भरपर्दो खेलाडीमा स्थापित भइसकेका छन् । पछिल्लो केही वर्षमा ‘ला रोजा’ का लागि उनी नै सबैभन्दा ठूला स्टार साबित भएका छन् । उनीप्रति चारैतर्फ रुचि र आकर्षण छ ।
स्पेन मात्र होइन, बार्सिलोनाका लागि उनले जुन प्रकारको खेल प्रदर्शन गरेका छन्, त्यसको प्रशंसा गर्ने पनि उत्तिकै छन् । बार्सिलोनाले स्पेनी ला लिगा जित्दाको खुसीयालीमा यामलले प्यालेस्टाइनको झण्डा फहराएका थिए । त्यसपछि त उनी विवादमा पनि परे । उनले जसरी आफ्नो १८ औं जन्मदिन मनाए, त्यसलाई लिएर पनि उत्तिकै आलोचना भएको थियो ।
विश्वकप सुरु हुन केही दिन बाँकी छँदा पनि त्यसले सबैको ध्यान खिचेको थियो । स्पेनका लागि यो राष्ट्रिय मुद्दा जस्तै बन्यो । विश्वकपमा उनको सहभागितालाई लिएर पनि आशंका रहे । तर अब एक किशोरका रूपमा उनले विश्वकप २०२६ खेल्ने तय भइसकेको छ । बार्सिलोनाका समर्थक उनलाई लियोनल मेसीको एकमात्र नयाँ रूप मान्छन् ।
त्यसैले यी खेलाडी यसपल्टको विश्वकपमा त्यस्तो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ, जसले उनलाई सफल खेलाडीको सूचीमा समावेश गर्नेछ । विश्वकप खेल्ने स्पेनी टिममा पर्नेबित्तिकै उनको पहिलो प्रतिक्रिया थियो, ‘आखिरमा त्यो दिन पनि आइपुगेको छ, जतिबेला विश्वकप खेल्ने सपना पूरा हुनेछ ।’ यामल शतप्रतिशत फिट थिएनन्, तर प्रशिक्षक लुइस डे लाले उनलाई टिममा राख्न दुईपल्ट सोचेनन् ।
यामललाई पनि एक समय डर लागेको थियो, कतै विश्वकप गुमाइने होइन । अब भने तिनै प्रशिक्षक डे लाले यामल पहिलो खेलका लागि तयार भएको बताउँछन् । अनि यही बेला प्रशिक्षकलाई के पनि थाहा छ भने यामलमाथि धेरैको धेरै विश्वास छ, त्यसैले यसले दबाब पनि सिर्जना गर्न सक्नेछ । टिम घोषणा गर्ने क्रममा प्रशिक्षकले भनेका थिए, ‘उनी भर्खर १८ वर्षका त भए ।’
उनलाई लिएर प्रशिक्षकको थप भनाइ छ, ‘अहिले नै यामल परिपक्व खेलाडी देखिएका छन् । उनी अहिले नै सफल खेलाडीका रूपमा अगाडि आइसकेका छन् । तर हामीले उनलाई सक्दो बढी समय अझै दिनुपर्ने हुन्छ । अहिले यो किन पनि बढी आवश्यक छ भने उनी भर्खर चोटमुक्त भएर मैदानमा फर्कदै छन् । हामी यति चाहन्छौं, उनले राम्रोसँग खेल्ने सकोस् ।’
‘उनलाई अहिले नै धेरै दबाब दिनुहुन्न । अहिले सबै मिडियाको नजर पनि उनीमाथि नै छ । विश्वभरका फुटबलप्रेमीले पनि उनलाई हेरिरहेका छन् । स्पेनमा त उनी ठूला स्टार भइसके । हामीले उनलाई चाहिने सक्दो समय दिनेछौं र आत्मविश्वासले भरिएको उत्कृष्ट खेलाडीका रूपमा विकास गर्न केही पनि कन्ज्युस्याइँ गर्ने छैनौं ।’ यामल आफैं पनि दबाबको बानी पर्न सुरु भएको मान्छन् ।
बार्सिलोनाका लागि उनले डेब्यु गर्दा भर्खर १५ वर्षका थिए । क्याटलन क्लबका लागि ला लिगामा खेल्ने उनी नै सबैभन्दा कान्छा खेलाडी हुन् । उनको प्रतिभाप्रति सबै नतमस्तक छन् । बलमाथि उनी जसरी नियन्त्रण राखेर खेल्छन् र प्ले–मेकरको भूमिका निभाउने काम गर्छन्, त्यसैमा सबै कायल छन् । अहिले नै उनले ला लिगामा चार सिजन बिताइसकेका छन् ।
कुरा यत्तिकैमा रोकिएन, स्पेन युरो च्याम्पियन पनि बन्यो । त्यस प्रतियोगितामा उनी उत्कृष्ट युवा खेलाडी पनि घोषित भए । स्पेनमा अहिले उनको नाम अंकित विश्वकप जर्सी सबैभन्दा बढी बिक्री भएको छ । यही कुरा विश्वभरका स्पेनी समर्थकबीच पनि लागू हुन्छ ।





























प्रतिक्रिया