काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत प्रजातान्त्रिक गणतन्त्र कङ्गोविरुद्धको खेलपछि पोर्चुगलका युवा स्टार जोआओ नेभेसले कप्तान क्रिस्टियानो रोनाल्डोबारे दिएको एउटा अभिव्यक्तिले विवाद निम्त्याएको छ।
कङ्गोसँगको खेल १–१ गोलको बराबरीमा सकिएपछि मिडियासँग कुरा गर्दै २१ वर्षीय नेभेसले रोनाल्डोलाई ‘टोलीका अन्य खेलाडी जस्तै सामान्यँ’ भनिदिएपछि उनी रोनाल्डोका समर्थकहरूको तीव्र आक्रोशको निशानामा परेका हुन्।
खेलपछिको अन्तर्वार्तामा नेभेसलाई कप्तान रोनाल्डोको प्रदर्शनबारे सोधिएको थियो। जवाफमा फ्रान्सेली क्लब पीएसजीका यी मिडफिल्डरले रोनाल्डोको विगतको योगदानको कदर गरे पनि वर्तमान टोलीमा उनको हैसियत अरू सरह भएको टिप्पणी गरे।
नेभेसले भने, ‘रोनाल्डोले हाम्रो लागि, राष्ट्रिय टोली र विश्व फुटबलका लागि के गरेका छन्, त्यो हामी सबैलाई थाहा छ। तर यो घडीमा उनी र हामी दुवैलाई राम्रोसँग थाहा छ कि उनी अरूभन्दा फरक छैनन्। उनी यहाँ केवल टोलीलाई मद्दत गर्न आएका अरू जस्तै एउटा खेलाडी हुन्।’
नेभेसले सोही क्रममा रोनाल्डोले खेलमा राम्रो प्रदर्शन गरेको र पूरै टोलीले उत्कृष्ट खेलेको उल्लेख गरे पनि रोनाल्डोका कट्टर समर्थकहरूलाई ‘अरू जस्तै खेलाडी’ भन्ने वाक्यांश चित्त बुझेन। सामाजिक सञ्जालमा नेभेसविरुद्ध तीव्र आक्रोश पोखिनुका साथै यो विवाद उनको प्रेमिकाको इन्स्टाग्राम पोस्टहरूसम्म पुगेको छ।
यसैबीच पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले भने नेभेसको भनाइको बचाउ गर्दै त्यसलाई गलत रूपमा बुझिएको हुन सक्ने बताएका छन्। मार्टिनेजले भने, ‘त्यो भनाइलाई सजिलै गलत अर्थ लगाउन सकिन्छ। तर यस टोलीमा क्रिस्टियानो रोनाल्डोको उचाइ र स्थानलाई कसैले पनि कम आँक्न सक्दैन। हामी इतिहासकै महान् फुटबलरको कुरा गर्दैछौँ, जसले देशका लागि अनगिन्ती कीर्तिमान राखेका छन् र अझै पनि लडिरहेका छन्।’
रोचक कुरा त के छ भने, सोही खेलको छैटौँ मिनेटमा आकर्षक गोल गर्दै नेभेस पोर्चुगलको तर्फबाट विश्वकप इतिहासमा गोल गर्ने तेस्रो सबैभन्दा कान्छो खेलाडी बनेका थिए। २१ वर्ष २६३ दिनको उमेरमा गोल गरेका उनीभन्दा अगाडि रोनाल्डो (२००६) र गोन्सालो रामोस (२०२२) मात्र रहेका छन्। तर खेलपछि रोनाल्डोमाथि गरेको टिप्पणीका कारण उनको यो ऐतिहासिक उपलब्धिलाई विवादले छायाँमा पारिदिएको छ।





























प्रतिक्रिया