फिफा विश्वकप २०२६ : अर्जेन्टिनाको नजर नकआउट चरणतिर

फिफा विश्वकप २०२६ : अर्जेन्टिनाको नजर नकआउट चरणतिर

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले सोमबार विश्वकपको समूह ‘जे’ को खेलमा अस्ट्रियाको सामना गर्दा आफ्नो नजर नकआउट चरण प्रवेशमा रहनेछ। दुवै टोली प्रतियोगिताको आ–आफ्नो पहिलो खेलमा विजयी रहेको थियो।

कप्तान लियोनल मेसीप्रेरित अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले हराएको थियो। अस्ट्रियाले भने जोर्डनमाथि ३–१ को विजय नतिजा निकालेको थियो। अबको जितको अर्थ अर्जेन्टिना अन्तिम ३२ मा पुग्ने संघारमा हुनेछ। समूहकै अर्को खेलमा जोर्डनले अल्जेरियालाई हराउन सकेन भने अर्जेन्टिना जितसँगै समूह विजेता पनि बन्नेछ।

अस्ट्रियाको आफ्नै फरक महत्त्वाकांक्षा रहनेछ। प्रशिक्षक राल्फ राङ्गनिकको नेतृत्वमा प्रभावशाली सुरुआत लिएको अस्ट्रियाले अर्जेन्टिनालाई स्तब्ध पार्ने हो र अर्को खेलमा अल्जेरिया पनि जोर्डनलाई हराउन असफल रहन्छ भने अस्ट्रियाको समूह विजेता बन्ने अवसर बन्नेछ।

यो खेलमा पनि सबैको ध्यान ३९ वर्षीय मेसीमै केन्द्रित हुनेछ। उनले अल्जेरियाविरुद्ध सानदार ह्याट्रिक रचेका थिए। यही जितले अर्जेन्टिनाले उपाधि रक्षाको सम्भावना पनि बलियो बनाएको थियो। तर अस्ट्रियाका कप्तान डेविड अल्बा त्यो खेल हेरेपछि भन्छन्, अर्जेन्टिना असाध्यै बलियो छ। उनी भन्छन्, ‘हामी सबैले त्यो खेल हेरेका थियौं। मेसीले उत्कृष्ट ह्याट्रिक गरेका थिए। उनी अद्वितीय खेलाडी हुन्। विश्वास गरौं, उनको यस्तै प्रदर्शन हामीविरुद्ध दोहोरिने छैन।’

डिफेन्डर अल्बा के मान्छन् भने मेसीबाहेक पनि अर्जेन्टिनी टिममा उत्कृष्ट खेलाडीको कमी छैन। उनी भन्छन्, ‘अर्जेन्टिना कस्तो प्रतिद्वन्द्वी हो, सबैलाई थाहा छ। उनीहरू कति स्तरीय टिम हो, त्यो पनि सबैलाई थाहा छ। मेसीविना पनि अर्जेन्टिना बलियो रहेकामा कुनै शंका छैन।’

अस्ट्रियाको खेल रणनीति ‘प्रेसिङ गेम’ रहेको छ। यसले अर्जेन्टिनी रक्षापंक्तिलाई गाह्रो पार्न सक्ने उनीहरूको विश्वास छ। अर्जेन्टिनाका सहायक प्रशिक्षक पाब्लो आइमरले अस्ट्रियालाई के चेतावनी दिएका छन् भने उनीहरूले अब सामना गर्न लागेको टिम अल्जेरिया जस्तो होइन। यति भन्दाभन्दै उनी के मान्छन् भने राङ्गनिकको नेतृत्वमा अस्ट्रिया बलियो चुनौती पेस गर्न सक्षम छ। उनी भन्छन्, ‘अस्ट्रिया जहिल्यै बलियो टिम हो। हामीले के देखेका छौं भने यसपल्टको विश्वकपमा सहभागी सबै टिमको स्तर उच्च छ।’

अल्जेरियाले आफ्नो पहिलो खेललाई लिएर फिफाको रेफ्री कमिसनमा उजुरी गरेको हुनाले पनि अबको खेल रोमाञ्चक हुनेछ। मेसीले ह्याट्रिक गर्नु अगाडि विपक्षी कप्तान आइसा मान्डीमाथि गरेको ‘च्यालेन्ज’ मा रेफ्रीको कारबाहीबाट बचेका थिए। अर्जेन्टिनाले अहिलेसम्म यो घटनालाई लिएर केही भनेको छैन। टोलीको उद्देश्य त्यसको स्थानमा अस्ट्रियाविरुद्धको खेलमै आफ्नो पूरा ध्यान केन्द्रित गर्नुहुनेछ।

Logo