विश्वकप जित्ने महत्त्वाकांक्षामा अमेरिका

विश्वकप जित्ने महत्त्वाकांक्षामा अमेरिका

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । आयोजक अमेरिका के विश्वकप जित्न सक्षम छ त? यस विश्वकपका सुरुआती दुई खेल जितेर अमेरिकाले केही छाँटकाँट भने देखाएको छ। यी दुई खेलको समग्रमा स्कोर थियो, ६–१। यत्तिको प्रदर्शनपछि अघिकै प्रश्न युएस टेलिभिजनमा फुटबल पण्डितका रूपमा प्रस्तुत भइरहेका ज्लाटन इब्राहिमोभिचलाई पनि सोधिएको थियो। उनको एकै शब्दको उत्तर थियो, ‘सक्छ।’

स्पेन, फ्रान्स र अर्जेन्टिना जस्ता पारम्परिक महाशक्तिको अगाडि अमेरिका अझै पनि ‘अन्डरडग’ नै रहेको छ। तर शुक्रबारको खेलमा अस्ट्रेलियालाई २–० ले हराएपछि अमेरिकाको महत्त्वाकांक्षा एकाएक बढेको छ। अमेरिकी खेलाडी सबै उत्साही देखिएका छन्। मिडफिल्डर मलिक टिलमन भन्छन्, ‘हामीलाई एकपछि अर्को गरी सबै खेल जित्नु छ। हामी जित्नकै लागि त खेलिरहेका छौं।’

उनले थपे, ‘विश्वकप उपाधि जित्ने नै हो भने हामीले प्रतियोगिताका सबै खेल जित्नुपर्नेछ, यही हो सूत्र। अब यही हाम्रो लक्ष्य हुनेछ।’ पाराग्वेविरुद्धको खेलमा मात्र अमेरिकाले केही चुनौतीको सामना गरेको थियो, तर त्यही खेलमा टोली ४–१ को जित निकाल्न सफल रह्यो । अमेरिकाले अबको खेलमा टर्कीको सामना गर्नेछ। त्यो वास्तवमै दुवै टिमका लागि ‘डेड रबर’ मात्र रहेको छ।

अमेरिकाका लागि नकआउट चरणको पहिलो खेल नै कठिन रहनेछ। किनभने सम्भवतः अन्तिम ३२ मा अमेरिकाको प्रतिद्वन्द्वी हुनसक्छ बेल्जियम वा स्पेन। पूरा विश्वकप इतिहासमै अमेरिकाले अहिलेसम्मै एकै नकआउट चरणको खेल जितेको छ। यो सन् २००२ मा सम्भव भएको थियो। त्यतिबेला अमेरिकाले मेक्सिकोलाई २–० ले हराएर अन्तिम १६ सम्म यात्रा तय गरेको थियो।

यो नै आधुनिक विश्वकपमा अमेरिकाको अहिलेसम्मको राम्रो प्रदर्शन थियो। घरेलु मैदानमा आयोजक देशले विश्वकप जित्ने सम्भावना भने बाक्लो रहेको छ। त्यसमध्ये सबैभन्दा पछिल्लो विश्वकप सन् १९९८ को रहेको छ। त्यति बेला फ्रान्सले प्रतियोगिता जितेको थियो। खासमा अहिलेसम्म ६ टिमले आफ्नो घरमा भएको विश्वकप जितेको छ अनि ती टिमसामु कम्तीमा तीनपल्ट घरमा फाइनल खेलेको इतिहास छ।

ती विजेतामध्ये अमेरिका नै त्यस्तो एक्लो देश रहेको छ, जहाँ फुटबलभन्दा बास्केटबल र बेसबल बढी लोकप्रिय छ। तर अहिले फुटबल अमेरिकामा तीव्र गतिमा लोकप्रिय भइरहेको छ। अमेरिकालाई ढिलोचाँडो सम्भावित विजेता मानिएको छ। यसको एउटै कारण अमेरिकामा मेजर लिग सकरको बढ्दो विस्तार पनि हो। यसैले एलेक्स फ्रिमन जस्ता अगाडि खेल्ने प्रतिभाशाली खेलाडी जन्माएको छ।

अहिले अमेरिकी टिमलाई स्वर्णिम पुस्ताका खेलाडी हुर्किरहेका छन् भन्दा त्यो सत्य साबित हुनसक्छ। किनभने तिनीहरूमध्ये क्रिस्टियन पुलिसिचले एसी मिलान, वेस्ट म्याकेन्जीले युभेन्ट्स र टिलमनले बायर लेभरकुजन जस्ता ठूलो क्लबबाट खेलिरहेका छन्। अमेरिकी फुटबलका लागि प्रशिक्षकमा माउरिसियो पोचेटिनो भित्र्याउनु पनि ठूलो निर्णय रहेको छ। उनले नै अमेरिकी टिमलाई पुनर्निर्माण गरिरहेका छन्।

क्रिस्टल प्यालेसका सेन्टर हाफ क्रिस रिचर्डसले भर्खरै मात्र टोटनहम, चेल्सी र पेरिस सेन्ट जर्मेन (पीएसजी) का पूर्व प्रशिक्षकको प्रशंसा गरेका छन्। उनी आफ्ना खेलाडीलाई उत्साही गर्न माहिर मानिन्छन्। रिचर्डस भन्छन्, ‘पोचेटिनोले ठूला क्लब सम्हालिसकेका छन् अनि हामीसँग काम गर्दा निकै गम्भीर छन्। यसको असर अब देखिन थालेको छ। हामी सबै खेलाडी अहिले उनकै रणनीतिलाई सफलतापूर्वक मैदानमा लागू गर्न लागिपरेका छौं।’

पोचेटिनोले आफ्ना खेलाडीलाई एक पाइला मैदानमै राख्ने र खेलमै मात्र केन्द्रित हुन पनि भनेका छन्। तर उनको यस्तो भनाइ पनि रहेको छ, ‘हामी मात्र किन च्याम्पियन हुन सक्दैनौं र?’

त्यसैले रिचर्डस पनि मान्छन्, विश्वकप इतिहासमै अमेरिका उपाधि जितेर अहिलेसम्मकै सबैभन्दा ठूलो स्तब्धपूर्ण नतिजा निकाल्न सक्षम छ। उनी भन्छन्, ‘पक्कै पनि अहिले हाम्रो ध्यान अबको खेलमा मात्र छ। तर त्यसको अर्थ के होइन भने हामी विश्वकप जित्न चाहँदैनौं।’

Logo