ह्युस्टन । विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा पोर्चुगलले बलमाथि अत्यधिक नियन्त्रण राख्न सक्यो। तर रोबर्टो मार्टिनेजको टिमले त्यसलाई निर्णायक गोलमा परिणत गर्न भने सकिरहेको थिएन। जतिबेला यही पोर्चुगलले मंगलबार हुने खेलमा उज्वेकिस्तानको सामना गर्नेछ, त्यतिबेला टिमसामु एउटै विकल्प आफ्नो आक्रमणलाई तिखार्ने रहनेछ।
डीआर कंगोविरुद्धको खेलमा पोर्चुगल १–१ को निराशाजनक बराबरीमा रोकिएको थियो। ओप्टाले उपलब्ध गराएको तथ्यांकअनुसार पोचुर्गलले आफ्नो अफ्रिकी प्रतिद्वन्द्वीविरुद्ध ७ सय ८३ पास खेलेको थियो। बढीभन्दा बढी पास खेल्ने स्पेनले नै ८ सयको हाराहारीमा एउटा खेलमा यस्तो प्रवृत्ति दोहोर्याउने गर्छ। अझ पोर्चुगलले खेलमाथि लिएको नियन्त्रणको प्रतिशत थियो, ७५।
तर पोर्चुगलले कंगोको पोस्टमा सात प्रहार मात्र गर्न सक्यो र त्यसमध्ये एक प्रहार मात्र गोलमा परिणत भयो। त्यो भनेको छैटौं मिनेटमा जाओ नेभेसको हेडबाट सम्भव गोल हो। विश्व विख्यात खेलाडी क्रिस्टियानो रोनाल्डोसहितको टिमबाट यो भन्दा राम्रो प्रदर्शन अपेक्षित हुने गर्छ।
त्यतिमात्र होइन, पोर्चुगलसामु आक्रमणको अनेक विकल्प पनि उपलब्ध छन्। तर पोर्चुगलले विपक्षको फाइनल–थर्डमा सिर्जनात्मक अवसर र त्यसको कार्यान्वयन तथा सही समयमा सही निर्णय गर्न सकिरहेको छैन। पहिलो चरणमा पोर्चुगलले रचेको आक्रमण सबैभन्दा कम रहेको छ, सहभागी सबै ४८ देशमध्ये नै। केप भार्डेविरुद्ध गोलरहित बराबरीमा पनि स्पेनले त्यो भन्दा बढी आक्रमण बुनेको थियो, त्यो भनेको २७।
समूह ‘के’ मा पोर्चुगलले विश्वकपमै डेब्यु गरिरहेको उज्वेकिस्तानको सामना गर्दा पक्कै पनि बढी आक्रमण र त्यसलाई निर्णायक गर्न सक्ने क्षमता अपेक्षा गरिनेछ। उज्वेकिस्तान कोलम्बियाविरुद्ध आफ्नो पहिलो खेलमा ३–१ ले पराजित रहेको थियो। त्यस खेललाई लिएर उज्वेकिस्तानी प्रशिक्षक फाबियो कानाभारो मान्छन्, उनका खेलाडी बढी नै भावनात्मक भएर खेले।
उनले भनेका छन्, ‘मलाई लाग्छ, हाम्रा खेलाडी धेरै नै आत्तिएर खेले। त्यसै कारण हाम्रा खेलाडी आक्रमणमा भन्दा पनि रक्षात्मक बढी भएर खेले।’ सन् २००६ मा इटालीले विश्वकप जित्दाका खेलाडीलाई भने अब लागेको छ, पहिलो खेलको डर अब उज्वेकिस्तानका खेलाडीमा रहेन। बालोन डी’अर विजेता कानाभारो अबको दोस्रो खेलमा सुधारिएको प्रदर्शनको अपेक्षा राख्छन्।
उज्वेकिस्तानले कोलम्बियालाई दोस्रो हाफमा केही गाह्रो पारेको थियो, त्यसैले पनि कानाभारोलाई विश्वास छ, आफ्नो टिम पोर्चुगललाई पनि लय समात्ने दिने पक्षमा हुने छैन। उनी भन्छन्, ‘एसियाको उच्च टिमको रूपमा हाम्रो टिम वास्तवमै बलियो छ। तर हामीलाई विश्वकप जस्तो ठूलो प्रतियोगिता खेलेर अझ फैलिनुपर्छ, आफूलाई परिपक्व बनाउनुपर्छ।’
कंगोविरुद्ध ४१ वर्षीय रोनाल्डोले पूरा ९० मिनेट खेल्ने अवसर पाएका थिए। यसैलाई लिएर प्रशिक्षक मार्टिनेजको आलोचना पनि भइरहेको छ। तर उनी नै आफ्नो टिमका मुख्य खेलाडी हुन्। विङ्गर फ्रान्सिस्को कोन्सकोउ भन्छन्, ‘रोनाल्डोमा अझै पनि सफलताको भोक मरेको छैन, त्यसैले उनी सबैका लागि उदाहरण पेस गर्न योग्य खेलाडी हुन्। हामी जस्ता नयाँ पुस्ताका लागि उनी आदर्श खेलाडी हुन्।’ रोयटर्स





























प्रतिक्रिया