काठमाडाैं । मेक्सिकोले चेक गणतन्त्र (चेकिया)लाई ३-० ले पराजित गर्दै विश्वकपको समूह चरणमा शतप्रतिशत जितको यात्रा पूरा गरेको खेलमा एउटा सुनौलो इतिहास रचिएको छ। खेलको ७८औँ मिनेटमा ४० वर्षीय दिग्गज गोलकिपर गुइलेर्मो ओचोआ मैदान प्रवेश गर्दा ऐतिहासिक एस्टेका रङ्गशालामा उपस्थित हजारौँ समर्थकहरूले तालीको गडगडाहट र गगनभेदी हुटिङका साथ उनको स्वागत गरे।
यस अघिका खेलहरूमा युवा गोलकिपर राउल ‘ताला’ रान्जेलको ब्याक-अपका रूपमा बेन्चमा रहेका ओचोआका लागि बुधबार रातिको खेल भावनात्मक र ऐतिहासिक पुनरागमन बन्यो। यो मैदान त्यही ठाउँ हो जहाँबाट उनले क्लब र देशका लागि आफ्नो पहिचान बनाएका थिए। खेलमा मेक्सिकोको तेस्रो गोलका लागि ओचोआले नै लामो पास उपलब्ध गराएर मुभको सुरुवात गरेका थिए, जसमा अल्भारो फिडाल्गोले सानदार गोल गरे।
मैदान प्रवेश गर्दाका आफ्ना भावनाहरू साट्दै ओचोआले भने, “म जब मैदान भित्र छिरेँ, मेरा आँखा अगाडि पुराना धेरै वर्षहरू र कैयौँ कथाहरू फ्याशब्याक जस्तै घुमे। यसै रङ्गशालाको गोलपोष्टमा मैले खेलेको पहिलो खेल र मेरो क्लब (क्लब अमेरिका) का साथमा ट्रफी उचालेका क्षणहरू याद आए। म फ्यान, टोलीका साथीहरू र प्रशिक्षकप्रति यो क्षण महसुस गर्न दिएकोमा कृतज्ञ छु।”
ओचोआले क्लब अमेरिकाका लागि १५ सिजन खेल्दै यसै मैदानमा आफ्नो जादू देखाएका थिए।
यससँगै ओचोआ विश्वकपमा खेल्ने मेक्सिकोको इतिहासकै सबैभन्दा पाको खेलाडी बनेका छन्। यसअघि यो कीर्तिमान कुअउहतेमोक ब्लाङ्कोको नाममा थियो, जसले २०१० को दक्षिण अफ्रिका विश्वकपमा ३७ वर्षको उमेरमा खेलेका थिए ।
ओचोआले यसअघि नै यो विश्वकपछि अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने घोषणा गरिसकेका थिए । उनी सन् २००६ र २०१० को विश्वकपमा वैकल्पिक खेलाडीका रूपमा टोलीमा रहेका थिए भने २०१४, २०१८ र २०२२ को विश्वकपमा मेक्सिकोको पहिलो रोजाइका गोलकिपर थिए । यो उनको समग्रमा छैटौँ विश्वकप सहभागिता र चौथो विश्वकपमा मैदान उत्रिएको खेल हो।
समूह ‘ए’ को विजेता बनिसकेको मेक्सिकोले अब आउँदो मंगलबार एस्टेका रङ्गशालामै अन्तिम ३२ को नकआउट खेल खेल्नेछ, जहाँ उसको प्रतिद्वन्द्वीको तय हुन बाँकी छ।





























प्रतिक्रिया