लस एन्जलस । केप भार्डेले डेब्यु गरिरहेकै विश्वकपमा एउटा सपना देखे जसरी यात्रा तय गरेको छ। जतिबेला भार्डेले नकआउट चरणको यात्रा तय गरेको छ। अब यो टोलीले सामना गर्नेछ लियोनल मेसीको अर्जेन्टिनासँग। एटलान्टिक द्वीप समूहको देशले साउदी अरेबियालाई समूह ‘एच’ को खेलमा गोलरहित बराबरीमा रोक्यो र दोस्रो चरण यात्रा गर्न सफल रह्यो।
अब जुलाई ३ मा मियामीको हार्डरक स्टेडियममा हुने खेलमा केप भार्डेको अगाडि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना हुनेछ। साउदी अरेबियाको खेलपछि मिडियासामु प्रस्तुत हुने क्रममा भार्डेका प्रशिक्षक बुबिस्टाले भने, ‘हाम्रा लागि त अब असम्भव भनेको केही पनि रहेन।’
त्यति भन्दै गर्दा उनले घाँटीमा आफ्नो देशको राष्ट्रिय झण्डा पहिरेका थिए। केप भार्डेको यो लगातार तेस्रो बराबरी थियो। त्यसैले टोलीले समूह चरणबाट ३ अंक बटुल्यो । युरोपेली च्याम्पियन स्पेन भने समूह विजेता रह्यो। टोलीले अर्को खेलमा उरुग्वेलाई १–० ले हरायो। गत आइतबार केप भार्डेसँग २–२ को बराबरीमा रोकिएको दुईपल्टको विश्वकप विजेता उरुग्वेको भने प्रतियोगितामा चुनौती सकिएको छ।
टोलीको जम्माजम्मी २ अंकमात्र भयो। स्पेनको जितको जित भने केही महँगो रह्यो। यारेमी पिनोलाई काँधमा चोट लागेको छ भने निको विलियमलाई मांसपेसीमा समस्या भएको छ। यो समूहको नतिजा कति महत्त्वपूर्ण रह्यो भने यिनै दुई नतिजाले इंग्ल्यान्ड, पोर्चुगल, घाना, इजिप्ट र पाराग्वे सबैको अन्तिम ३२ को चरणमा खेल्ने निश्चित भएको छ।
यसअघि फ्रान्सले आफ्नो उत्कृष्ट लय कायम राख्दै नर्वेलाई ४–१ ले हराएको थियो। फ्रान्स समूह ‘आई’ को शीर्षस्थानमा रह्यो। फ्रान्सको जितमा वर्तमान बालोन डी’अर विजेता ओसमन डेम्बेलेले ह्याट्रिक रचेका थिए। यो प्रतियोगितामा दोस्रो ह्याट्रिक हो। फ्रान्सले प्रतियोगितामा आफ्नो शतप्रतिशत विजय यात्रा कायम राख्यो। खेलअगाडि यो भिडन्त चर्चाको विषय बनेको थियो, किनभने यो फ्रान्सका केलियन एमबापे र नर्वेका इर्लिङ हालान्डबीचको व्यक्तिगत टकराव पनि थियो। तर यस्तो स्थिति खेलमा आउँदै आएन। किनभने म्यानचेस्टर सिटीका स्टार हालान्ड सुरुमा वेञ्चमा थिए।
यस्तोमा खेलका नायक बने, डेम्बेले। खेलपछि उनले भने, ‘यो प्रदर्शन मेरा लागि विशेष रहनेछ अनि असाधारण। मलाई के लाग्छ भने अहिले हाम्रो ध्यान पूर्णतः खेलमा केन्द्रित हुनुपर्छ। हाम्रो सामु अब प्रतियोगिताको वास्तविक चुनौती आउनेछ।’
फ्रान्सले भने अब अन्तिम ३२ को खेलमा स्विडेनको सामना गर्नेछ। नर्वेको प्रतिद्वन्द्वी भने आइभरी कोस्ट हुनेछ। सेनेगल अर्को चरण प्रवेशका लागि इराकलाई ५–० ले हराएर प्रतियोगितामा पहिलो तीन अंक बटुल्न सफल रह्यो। राम्रो गोल अन्तरको जितले पश्चिमी अफ्रिकी देश तेस्रो स्थानमा आउने उत्कृष्ट ८ टिममध्ये एकमा पर्नेछ। शुक्रबारको अन्तिम खेलमा इरानले इजिप्टसँग १–१ को बराबरी खेल्यो।
यो नतिजापछि समूह ‘जी’ बाट इजिप्ट अगाडि बढेको छ भने इरानले आफ्नो भाग्यका लागि अझै कुर्नुपर्नेछ। यो नतिजाको अर्थ इजिप्ट समूहको दोस्रो स्थानमा रह्यो। बेल्जियमले न्युजिल्यान्डमाथि ५–१ को जित रच्यो। आर्सनलका लियान्ड्रो ट्रोसार्डले दुई, केभिन डे ब्रुएना, रोमेलु लुकाकु र एलेक्सिस सेलमेकरले एक–एक गोल गरे। बेल्जियम गोल अन्तरका आधारमा इजिप्टभन्दा अगाडि रह्यो र अन्तिम ३२ पुग्न सफल रह्यो।





























प्रतिक्रिया