मोड्रिकलाई भावुक बिदाइ

मोड्रिकलाई भावुक बिदाइ

केन्द्रबिन्दु
12
Shares

टोरन्टो (क्यानाडा) । क्रोएसियाका महान् मिडफिल्डर लुका मोड्रिकको विश्वकप यात्रा लगभग अन्त्यतिर पुगेको मानिँदै गर्दा उनीप्रति आफ्नै टोलीका प्रशिक्षक ज्लाटको डालिच र पोर्चुगलका प्रशिक्षक रोबर्टो मार्टिनेजले उच्च सम्मान व्यक्त गरेका छन् । पोर्चुगलसँग २–१ ले पराजित भएपछि ४० वर्षीय मोड्रिकले सम्भवतः विश्वकप खेलमा पूर्णविराम लगाएका छन् ।

खेलपछि मोड्रिक र ४१ वर्षीय क्रिस्टियानो रोनाल्डोबीच लामो आत्मीय संवाद भएको थियो । रियल म्याड्रिडमा छ सिजन सँगै बिताउँदै चार पटक च्याम्पियन्स लिग जितेका यी दुई महान् खेलाडी अन्तर्राष्ट्रिय फुटबल यात्राको अन्तिम चरणमा पुगेका मानिन्छन् ।

क्रोएसियाका प्रशिक्षक डालिचले मोड्रिकको बिदाइ यसरी हुनुपरेकोमा दुःख व्यक्त गर्दै उनले अन्तिम क्षणसम्म पनि आफ्नो नेतृत्व, चरित्र र उत्कृष्ट खेल प्रदर्शन कायम राखेको बताए । उनका अनुसार मोड्रिक सधैँ क्रोएसियाका प्रमुख खेलाडीमध्ये एक रहेका छन् ।

पोर्चुगलका प्रशिक्षक मार्टिनेजले मोड्रिकले लाखौँ बालबालिकालाई प्रेरणा दिएको उल्लेख गर्दै उनको खेल्ने शैली फुटबल इतिहासमा सधैँ सम्झिने खालको रहेको बताए । बल आफ्नो नियन्त्रणमा लिएपछि सही निर्णय गर्ने क्षमता, खेलको गति बुझ्ने शैली र खाली स्थान सिर्जना गर्ने कौशलका कारण मोड्रिक अझै पनि युवा खेलाडीजस्तै प्रभावशाली देखिएको उनको भनाइ थियो ।

सन् २०१८ को विश्वकपमा क्रोएसियालाई उपविजेता तथा २०२२ मा तेस्रो स्थानसम्म पुर्‍याउने यात्रामा मोड्रिकले निर्णायक भूमिका खेलेका थिए । हाल एसी मिलानबाट खेलिरहेका उनले गत महिना आफ्नो २००औँ अन्तर्राष्ट्रिय खेल पूरा गरेको थियो । जुन २३ मा पानामामाथिको जितपछि टोलीका खेलाडीहरूले उनलाई सम्मानस्वरूप काँधमा उचालेर बिदाइको सङ्केत दिएका थिए ।

यता समूह चरणमा आलोचना खेपेका रोनाल्डोले पोर्चुगलको यस जितमा महत्त्वपूर्ण योगदान दिँदै दोस्रो हाफमा पेनाल्टीमार्फत बराबरी गोल गरेका थिए ।

Skip This
Skip This
Logo