काठमाडौं। इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ। भर्खरै सम्पन्न खेलमा मेक्सिकोलाई ३–२ गोलले हराउँदै इंग्ल्यान्डले अन्तिम ८ मा स्थान बनाएको हो।
निकै नै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफको अन्तिमतिर ३ गोल भएको थियो। ३६ औं र ३८ औं मिनेटमा जुड बेलिङहमले गोल गर्दै इंग्ल्यान्डलाई २–० को अग्रता दिलाएका थिए।
४२ औं मिनेटमा युलियन क्विन्योनेसले गोल गर्दै घरेलु टोली मेक्सिकोलाई १–२ को स्थितीमा ल्याए। ५४ औं मिनेटमा जारेल क्वान्साले रातो कार्ड खाँदै बाहिरिएपछि इंग्ल्यान्ड १० खेलाडीमा समेटियो। ६० औं मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै इंग्ल्यान्डलाई ३–१ ले अघि बढाए।
लगत्तै ६९ औं मिनेटमा राउल जिमिनेजले पेनाल्टीमार्फत गोल गर्दै मेक्सिकोलाई २–३ को अवस्थामा ल्याए। त्यसपछि दुवै टीमले गोल गर्ने प्रयास गरेपनि सफल भएनन् र अन्ततः इंग्ल्यान्ड विजयी बन्यो। अब इंग्ल्यान्डले क्वाटरफाइनलमा नर्वेसँग खेल्नेछ भने सह–आयोजक मेक्सिको प्रतियोगिताबाट बाहिरिएको छ।






























