काठमाडौं । ब्राडली बार्कोला फ्रन्ट थ्रीको जुनै पनि भूमिकामा पनि खेल्न सक्छन्। उनी लेफ्ट र राइट विंग्स तथा फरवार्डबाट पनि खेल्न सक्छन्। उनी मुख्यतः दाहिने खुट्टाले बढी खेल्छन् तर उनी छेउबाट बढी खेल्छन्।
विपक्षीको पोस्ट अगाडि उनी ‘वान अन वान’ स्थितिमा अझ बढी आक्रामक हुने गर्छन् भने आफ्नो अग्रपंक्तिका खेलाडीलाई धेरै मौका सिर्जना गरिदिन्छन्। बार्कोलासँग फ्रान्ससँगै टोगोको नागरिकता पनि छ । उनका दाइ म्यालकम टोगोको राष्ट्रिय टोलीबाट खेल्छन्।
फ्रान्सले बिहीबार राति अर्को अफ्रिकी राष्ट्र मोरक्कोसँग क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्दा २३ वर्षे बार्कोला पनि चर्चाको घेरामा हुनेछन्।
फ्रान्सको आक्रामणमा केलियन एमबाप्पे र ओसमन डेम्बेले रहेका कारण बार्कोला चर्चाबाहिर छन्, तर उनी एमबाप्पे र डेम्बेलेलाई अवसर सिर्जना गर्ने प्रमुख खेलाडीको रूपमा टोलीमा छन्। यस विश्वकपमा उनले फ्रान्सको सेनेगलविरुद्धको पहिलो खेल र नकआउट चरणमा स्विडेनविरुद्ध १–१ गोल गरेका थिए।
उनले फ्रान्सबाट २५ खेल खेल्दै ५ गोल गरिसकेका छन्। फ्रान्सेली टोली पेरिस सेन्ट जर्मेनलाई पछिल्लो दुई सिजन च्याम्पियन्स लिगको उपाधि दिलाउन उनले प्रमुख भूमिका निभाउँदै आएका छन्। सन् २०२१ मा उनी अर्को फ्रेन्च टोली लियोनबाट ४ करोड ५० लाख युरोमा पेरिस आएका थिए।






























