इजिप्टद्वारा फिफासमक्ष फ्रान्सेली रेफ्रीविरुद्ध औपचारिक उजुरी दर्ता, बाँकी खेलमा रोक लगाउन माग

इजिप्टद्वारा फिफासमक्ष फ्रान्सेली रेफ्रीविरुद्ध औपचारिक उजुरी दर्ता, बाँकी खेलमा रोक लगाउन माग

केन्द्रबिन्दु
18
Shares

काठमाडाैं । विश्वकपको प्रिक्वाटरफाइनलमा साविक विजेता अर्जेन्टिनासँग ३-२ को नाटकीय पराजय भोग्दै बाहिरिएपछि इजिप्टको फुटबल संघले खेलका मुख्य रेफ्री फ्रान्स्वा लेटेक्सिएर र उनको टोलीविरुद्ध विश्व फुटबलको सर्वोच्च निकाय फिफामा औपचारिक उजुरी दर्ता गरेको छ।

इजिप्ट फुटबल संघका अध्यक्ष हानी आबो रिदाले उक्त उजुरी दायर गरेका हुन्। उजुरीमा खेलका क्रममा भएका कयौँ विवादास्पद निर्णयहरूको स्पष्टीकरण माग गर्दै रेफ्री टोलीको निर्णय क्षमतामाथि छानबिन गर्न र लेटेक्सिएरको टोलीलाई जारी विश्वकपका बाँकी खेलहरू सञ्चालन गर्नबाट तुरुन्त रोक लगाउन समेत फिफासमक्ष जोडदार माग गरिएको छ।

खेल सकिन ११ मिनेट बाँकी रहँदासम्म इजिप्टले खेलमा २-० को ऐतिहासिक अग्रता बनाएको थियो, जुन विश्वकप इतिहासकै सबैभन्दा ठूलो उलटफेरको नजिक थियो। तर, अन्तिम समयमा इजिप्टले लगातार तीन गोल खान पुग्यो र प्रतियोगिताबाट बाहिरियो।

इजिप्टको आक्रोश विशेष गरी दुईवटा मुख्य घटनामा केन्द्रित छ। खेलको ६२औँ मिनेटमा मोस्टफा जिकोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए, तर भिडियो असिस्टेन्ट रेफ्रीले खेलको सुरुवाती विन्दुमा फल भएको भन्दै उक्त गोललाई मान्यता दिएन। त्यस्तै खेलको अन्तिम क्षणमा इजिप्टका हाम्दी फाथीलाई अर्जेन्टिनी खेलाडीले डि-बक्स भित्र समातेर ताने पनि रेफ्रीले पेनाल्टी दिएनन्।

खेलपछिको पत्रकार सम्मेलनमा इजिप्टका मुख्य प्रशिक्षक होसाम हसनले रेफ्री र भीएआर प्रविधिको दोहोरो मापदण्डमाथि कडा प्रहार गरेका छन् । आक्रोशित मुद्रामा प्रस्तुत भएका हसनले आफूहरूमाथि अन्याय भएको भन्दै स्पष्ट पेनाल्टी पाउनुपर्ने खेलमा वैध गोललाई विना कुनै ठोस कारण खारेज गरिएको बताए।

हालसम्म फिफाले यस उजुरीको सम्बन्धमा कुनै आधिकारिक प्रतिक्रिया जनाएको छैन।

Logo