कान्सास सिटी । विश्वकप फुटबलमा अब आठ टिम मात्र बाँकी रहेका छन्। प्रतियोगिता क्वाटरफाइनल चरण पुग्दा त्यस्ता टिमको मात्र चुनौती बाँकी छ, जसलाई ‘हेभिवेट’ भन्न सकिन्छ। यस्तोमा यी टिमबीचका खेल पनि आफैंमा माथिल्लो स्तरको हुनेछ। प्रतियोगिताको अन्तिम आठ चरणको समीकरण कसरी तयार भएको छ त? अब त्यसमै नजर लगाउने छौं।
फ्रान्सविरुद्ध मोरक्को
बलियो फ्रान्सले अहिलेसम्म त्यसरी खेलेको छ, जसरी उपाधिको बलियो प्रत्याशीको रूपमा खेल्ने अपेक्षा थियो। समूह चरण सजिलै काटेको फ्रान्सले त्यसपछि स्विडेन र पाराग्वेलाई पन्छाएको हो। डिडियर डेसच्याम्पको टिमलाई चुपचाप पार्न सक्ने टिम यो विश्वकपमा देखिएको छैन। फ्रान्सेली आक्रमणमा केलियन एमबाप्पे, ओसमन डेम्बेले र ब्राडली बार्कोलाजस्ता खेलाडीसम्मिलित छन्। माइकल ओलिसले मध्यपंक्तिबाट राम्रो गरिरहेका छन्।
मोरक्को आफैं पनि अपराजित छ। दुईपल्टको विश्वकप च्याम्पियनको सामना गर्नु अगाडि मोरक्कोले नेदरल्यान्ड्सलाई पेनाल्टी शुटआउट र सह–आयोजक क्यानडालाई नकआउट चरणमा हराएको थियो। बोस्टनमा हुने अबको खेल अगाडि मोरक्कोको मनमा बदला लिने उद्देश्य हुनेछ।
यस्तो किनभन्दा चार वर्षअगाडि कतारमा भएको सेमिफाइनलमा मोरक्को फ्रान्सकै हातबाट २–० ले पराजित भएको थियो। त्यतिबेला मोरक्कोले विश्वकपको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी देश भएर तहल्का मच्चाएको थियो। यसपल्ट यस्तै उपलब्धि दोहोर्याउने उद्देश्य रहनेछ। त्यसैले यो विश्वकपमा फ्रान्सको सबैभन्दा ठूलो परीक्षा यही खेलमा हुनेछ।
स्पेनविरुद्ध बेल्जियम
आफ्नो पछिल्लो खेलमा पोर्चुगललाई १–० ले हराएयता स्पेनले यस विश्वकपमा नयाँ दुर्लभ विश्व कीर्तिमान नै बनाएको छ भन्दा हुन्छ। स्पेनले अहिलेसम्म एकै गोल पनि खाएको छैन र यसक्रममा आफूले खेलेका सबै खेलमा ‘क्लिन सिट’ राखेको छ। त्यसो त लुइस डे ला फुन्टेको युरोपेली च्याम्पियनले अहिलेसम्म त्यस्तो खेलको प्रदर्शन गरेको छैन, जसलाई अत्यधिक आकर्षक मान्न सकियोस्।
तर टिमको प्रदर्शन आफैंमा उच्च छ र बलमाथि उसकै बढी नियन्त्रण छ। बार्सिलोना स्टार लामिन यामलले ५ खेलमा एक गोल मात्र गरेका छन्, तर मिकेल आयारजाबलले ४ गोल गरिसकेका छन्। अस्ट्रियाविरुद्ध अन्तिम ३२ चरणमा प्राप्त जितमा उनले दुई गोल गरेका थिए। बेल्जियमले स्पेनको सामना गर्दा त्यसको पृष्ठभूमिमा हुनेछ, सह–आयोजक अमेरिकामाथिको ४–१ को जित।
त्यसअगाडि सेनेगलमाथि अन्तिम ३२ को चरणमा प्राप्त जितमा त बेल्जियमले दुई गोलले पछाडि रहेको स्थितिबाट पुनरागमन रचेको हो। पछि अतिरिक्त समयमा टोलीको जित निश्चित भएको थियो। यो प्रतियोगिता बेल्जियमको स्वर्णिम पुस्ताका खेलाडी केभिन डे ब्रुयना र रोमेलु लुकाकु जस्ता खेलाडीको अन्तिम विश्वकप रहनेछ, त्यसैले उनीहरू पनि आफ्नो छाप छाड्न चाहन्छन्।
नर्वेविरुद्ध इंग्ल्यान्ड
इंग्लिस डिफेन्ससामु नर्वेली स्टार इर्लिङ हालान्डको सामना गरेको अनुभवको कुनै कमी छैन। इंग्लिस प्रिमियर लिगमा लगातार खेलेको आधारमा हालान्डलाई रोक्ने उपाय तिनलाई जति अरूलाई थाहा छैन। तर मूल प्रश्न के हुनेछ भने के साँच्चै इंग्ल्यान्ड यसपल्ट हालान्डलाई रोक्न सफल हुनेछ त? थोमस टचेलको प्रशिक्षणमा रहेको इंग्ल्यान्ड अमेरिका आइपुग्दा उपाधिको बलियो प्रत्याशीमध्ये एक थियो।
इंग्ल्यान्ड दोस्रोपल्ट विश्वकप जित्न चाहन्छ। त्यसै अनुसार इंग्ल्यान्डका लागि दुई प्रमुख खेलाडी कप्तान ह्यारी केन र जुड बेलिङ्घमले राम्रो गरेका छन्। इंग्ल्यान्डले गरेका ११ गोलमध्ये १० त उनीहरूकै नाममा छ। मेक्सिकोविरुद्ध प्राप्त ३–२ को जितमा तीनै गोल उनीहरूको नाममा रह्यो। १० खेलाडीमा सीमित रहेर सह–आयोजकमाथि प्राप्त जितले इंग्ल्यान्ड उत्साही रहेको छ।
अब भने मियामीमा हुने खेलमा उत्कृष्ट लयमा रहेका हालान्ड हुनेछन् र उनले अहिलेसम्म ७ गोल गरिसकेका छन्। गोल्डेन बुट अवार्डका लागि उनी बलियो प्रत्याशी रहेका छन्। म्यानचेस्टर सिटीका खेलाडीले नर्वेका लागि खेलेको पछिल्ला १४ खेलमा लगातार गोल गरेका छन्। यो भनेको २७ गोल हुन्छ। यही एक तथ्यांकले भन्छ, यी खेलाडी इंग्ल्यान्डको डिफेन्स तोड्न सक्षम हुनेछन्।
अर्जेन्टिनाविरुद्ध स्विट्जरल्यान्ड
लियोनल मेसीको अर्जेन्टिनाले क्वाटरफाइनलमा स्विट्जरल्यान्डसँग भेट निश्चित गर्न गाह्रै परेको थियोभन्दा हुन्छ। सबैभन्दा पहिले विश्वकपमा डेब्यु गरिरहेको केप भार्डेले अर्जेन्टिनालाई अतिरिक्त समयको खेल खेल्न बाध्य पारेको थियो। त्यसमा अर्जेन्टिनालाई जित निकाल्न सजिलो रहेन। अन्तिम १६ को चरणमा अर्जेन्टिनाले इजिप्टमाथि रचेको जित अझ धेरै नाटकीय रह्यो।
इजिप्टविरुद्ध दुई गोलले पछाडि रहेको स्थितिमा लागिरहेको थियो, अब घर फर्कने पालो अर्जेन्टिनाको हो, तर डिफेन्डिङ च्याम्पियन विश्वकप इतिहासकै एक उत्कृष्ट पुनरागमन रच्न सफल रह्यो। यसको केन्द्रमा रहे तिनै मेसी। यी दुई खेलपछि प्रशिक्षक लियोनल स्कोलानीलाई के लागेको हुनुपर्छ भने आफ्नो टिमलाई सधैं भाग्यले साथ दिनुपर्छ भन्ने हुन्न।
कान्सास सिटीमा अब हुने खेलमा स्विट्जरल्यान्डको सामना गर्दा त्यो पनि सजिलो खेल हुने छैन। स्विस टिमले भ्यानकोभरमा भएको खेलमा कोलम्बियाविरुद्ध गोलरहित बराबरी खेलेपछि पेनाल्टी शुटआउटमा जित निकालेको हो। सन् १९५४ यता पहिलो पटक अन्तिम आठको चरण खेलिरहेको स्विस टिमको अहिलेसम्मको प्रदर्शनले भन्छ, यसको रक्षापंक्ति तोड्न पक्कै सजिलो छैन।






























