विश्वकप उपाधीसँगै गोल्डेन बुट अवार्डको होड रोमाञ्चक

विश्वकप उपाधीसँगै गोल्डेन बुट अवार्डको होड रोमाञ्चक

केन्द्रबिन्दु
30
Shares

डालास । विश्वकप फुटबल अहिले सेमिफाइनल चरणमा पुग्दा उपाधिको होड मात्र कायम छैन, प्रतियोगितामै सबैभन्दा बढी गोल गर्ने कसले हो, त्यसको पनि चर्को प्रतिस्पर्धा चलिरहेको छ। हुनसक्छ, यसको टुंगो फाइनलसँगै लाग्नेछ।

गोल्डेन बुट अवार्डको होडले पूरा प्रतियोगितालाई नै रोमाञ्चक बनाएको छ। अहिले प्रतियोगितामा ४ टिमको मात्र चुनौती कायम छ। अबका खेलको नतिजा जस्तै रहे पनि प्रत्येक टिमले समान २ खेल खेल्नेछन्। सेमिफाइनलसँगै कि त फाइनल, होइन भने तेस्रो स्थानको खेल। यिनै चार टिमका खेलाडीबीच नै विश्वकपको सबैभन्दा प्रतिष्ठित व्यक्तिगत अवार्डका लागि होड चर्को छ। यसअघिका विश्वकपको तुलनामा बढी गोल गर्ने खेलाडीको प्रतिस्पर्धा यसपल्ट नजिकको दूरीबाट चलिरहेको छ।

अब बाँकी खेलमा हुने प्रत्येक गोलले प्रतियोगितामा सर्वाधिक गोलकर्ताको सूची तलमाथि हुन सक्नेछ। फ्रान्सका केलियन एमबाप्पेले यसै विश्वकपबाट फेरि एकपल्ट प्रमाणित गरेका छन्। आफू नै अबको विश्वकपको सबैभन्दा ठूला स्टार हुनेछन् भनेर। उनको तीव्र गति, शक्तिशाली प्रहार र दबाबमा उच्च प्रदर्शन गर्न सक्ने क्षमताका कारण उनी नै सर्वाधिक गोलकर्ताको होडमा अगाडि छन्।

उनले ८ गोल गरिसकेका छन्। एमबाप्पेको बराबरीमा छन्, अर्जेन्टिनी कप्तान लियोनल मेसी। यी भेट्रान खेलाडीले आफ्नो टिमका लागि यस विश्वकपमा एक खेल छाडेर सबैमा गोल गरेका छन्। उनले विश्वकपको सुरुआती नै ह्याट्रिकसँगै गरेका थिए। उनी नै विश्वकप इतिहासमा सर्वाधिक गोलकर्ता हुन्, उनले समग्रमा २१ गोल गरिसकेका छन्। यसमा भने २० गोलसहित एमबाप्पे दोस्रो स्थानमा छन्।

इंग्ल्यान्डका तर्फबाट दुई खेलाडी सर्वाधिक गोलकर्ताको होडमा छन्। तिनीहरू कप्तान ह्यारी केन र जुड बेलिङ्घम छन्। दुवैले समान ६ गोल गरेका छन्। केनले इंग्ल्यान्डका लागि अपेक्षाअनुसार नै गोल गरिरहेका छन् भने बेलिङ्घम यस विश्वकपकै त्यस्ता खेलाडी हुन्, जसलाई केही हदसम्म उदीयमान मान्न सकिन्छ। अबको विश्वकपमा अझ राम्रो प्रदर्शनको अपेक्षा गर्न सकिन्छ। इंग्ल्यान्डले यस विश्वकपमा अहिलेसम्म जति गोल गरेको छ, लगभग सबै यिनै दुई खेलाडीको नाममा रहेको छ।

सेमिफाइनल पुगेको चौथो टिम स्पेनका खेलाडी भने यस होडमा छैनन्। यसको प्रमुख कारण टिमको खेल्न शैली नै हो। स्पेन टिम खेलमा बढी जोड दिन्छ र टोलीका लागि एकभन्दा बढी खेलाडीले गोल गरेका छन्। यो नै स्पेनको फुटबल विशेषता पनि हो।

यसबीच नर्वेका इर्लिङ हालान्डले ७ गोल गरे। प्रतियोगितामा उनको चुनौती भने समाप्त भइसकेको छ। फ्रान्सकै ओसमन डेम्बेलेले ५ गोल गरिसकेका छन् र उनीसामु पनि केही हदसम्म उच्च गोलकर्ता हुने अवसर छ। यस्तै ४ गोल गर्ने ४ खेलाडी छन्। त्यसमा एक स्पेनका मिकेल आयारजाबल पर्छन्। कम्तीमा उनीसामु आफ्नो व्यक्तिगत गोलसंख्या बढाउने अवसर हुनेछ।

Logo