काठमाडाैं । गएराति अमेरिकाको एटलान्टामा सम्पन्न फिफा विश्वकप २०२६ को सेमिफाइनल खेलमा इङ्ल्याण्डमाथि २–१ काे नाटकीय जित हात पारेपछि अर्जेन्टिनाका खेलाडीहरूले “लास माल्भिनास सोन अर्जेन्टिनास” अर्थात् “फकल्यान्ड टापु अर्जेन्टिनाकै हो” लेखिएको ब्यानर प्रदर्शन गरे । प्रतिस्पर्धात्मक खेलमा अर्जेन्टिनाले अन्तिम समयमा पुनरागमन गर्दै जित निकालेपछि खेलाडी र समर्थकहरूले उत्साहपूर्वक विजय मनाउनु स्वभाविक थियाे तर फकल्यान्ड टापुमाथि अर्जेन्टिनाको दाबी झल्किने सन्देश लेखिएको ब्यानर सार्वजनिक रूपमा प्रदर्शन गरेपछि खेलबाहिरको विषयले बढी चर्चा पाउन थालेको छ । दशकौँ पुरानो एउटा ऐतिहासिक युद्ध र राजनीतिक तनावलाई फेरि विश्वसामु ताजा बनाइदिएको छ ।
आखिर के थियो त फकल्याण्ड युद्ध र यसको पृष्ठभूमि ?
दक्षिण-पश्चिम एटलान्टिक महासागरमा, अर्जेन्टिनाको पूर्वी तटबाट करिब ३०० माइल टाढा अवस्थित फकल्याण्ड टापु (जसलाई अर्जेन्टिनामा ‘माल्भिनास’ भनिन्छ) लामो समयदेखि बेलायत र अर्जेन्टिनाबीच सार्वभौमिकताको विवादमा रहँदै आएकाे छ । सन् १५९२ देखि नै विभिन्न युरोपेली अन्वेषकहरूले यो टापु देखेको दाबी गरे पनि सन् १८३३ मा बेलायतले यस टापुमा आफ्नो पूर्ण नियन्त्रण कायम गर्यो र त्यहाँ रहेका थोरै संख्याका अर्जेन्टिनी बासिन्दाहरूलाई धपायो। त्यसयता बेलायतले यसलाई आफ्नो वैदेशिक भूभागका रूपमा शासन गर्दै आएको छ भने अर्जेन्टिनाले इतिहास र भौगोलिक निकटताका आधारमा यस टापुमाथि आफ्नो हक दाबी गर्न छाडेको छैन।
सन् १९८२ को फकल्याण्ड युद्ध
दशकौँ लामो कूटनीतिक प्रयास असफल भएपछि, सन् १९८२ को सुरुवातमा अर्जेन्टिनाको तत्कालीन सैन्य शासक (जुन्टा) का नेता जनरल लियोपोल्डो गाल्टिएरीले एउटा ठोस कदम चाल्ने निर्णय गरे । आन्तरिक रूपमा आर्थिक संकट र मानवअधिकार उल्लंघनका कारण आफ्नो लोकप्रियता गुमाउँदै गएको सैन्य सरकारले जनतामा राष्ट्रभक्तिको भावना जगाएर आफ्नो सत्ता जोगाउन फकल्याण्ड टापुमाथि सैन्य आक्रमण गर्ने योजना बनायो।
सन् १९८२ अप्रिल २ मा अर्जेन्टिनी सेनाले फकल्याण्डको राजधानी पोर्ट स्ट्यानलीमा अचानक आक्रमण गरी त्यहाँ तैनाथ साना बेलायती नौसैनिक टोलीलाई आत्मसमर्पण गर्न बाध्य बनायो। त्यसको भोलिपल्टै उनीहरूले नजिकैको साउथ जर्जिया टापु पनि आफ्नो नियन्त्रणमा लिए। सुरुमा अर्जेन्टिनाका जनताले यसको भव्य स्वागत गरे।
अर्जेन्टिनाले बेलायत टाढा भएकाले प्रतिकार नगर्ने अनुमान गरेको थियो, तर तत्कालीन बेलायती प्रधानमन्त्री मार्गरेट थ्याचर पनि चुप बसिनन् । उनले तुरुन्तै फकल्याण्डको वरिपरि २०० माइलको युद्ध क्षेत्र घोषणा गर्दै दुईवटा विमानवाहक जहाजसहितको ठूलो नौसैनिक टोली ८,००० माइल टाढाको युद्ध मैदानतर्फ पठाइन्। यस युद्धमा बेलायतलाई अमेरिका र अधिकांश युरोपेली देशहरूको सैन्य तथा गुप्तचर सहयोग प्राप्त भयो।
नभन्दै अप्रिल २५ मा बेलायती सेनाले साउथ जर्जिया टापु फिर्ता लियो। मे २ मा बेलायती आणविक पनडुब्बीले अर्जेन्टिनाको ठूलो युद्धपोत ‘जर्नल बेलग्रानो’ लाई ध्वस्त पारिदियो, जसमा परि करिब ३०० भन्दा बढी अर्जेन्टिनी सैनिकको मृत्यु भयो। यस घटनापछि अर्जेन्टिनाको नौसेना पछि हट्न बाध्य भयो। यद्यपि, अर्जेन्टिनी वायुसेनाका पाइलटहरूले फ्रान्सेली ‘एक्सोसेट’ मिसाइलमार्फत बेलायतको आधुनिक युद्धपोत ‘एचएमएस शेफिल्ड’ सहित कैयौँ जहाजहरू डुबाइदिएका थिए ।
मे २१ मा बेलायती सेना फकल्याण्डको उत्तरी तटमा सफलतापूर्वक अवतरण गर्यो। त्यहाँबाट कठिन मौसम र प्रतिकूल भूगोलको सामना गर्दै बेलायती पैदल सेना राजधानी स्ट्यानलीतर्फ अघि बढ्यो। डार्विन र गुज ग्रिन जस्ता क्षेत्रमा आमनेसामने भएको भीषण युद्धमा अर्जेन्टिनाका थकित र कमजोर रूपमा प्रशिक्षित युवा सैनिकहरू बेलायती व्यावसायिक सेनासामु टिक्न सकेनन्। चारैतिरबाट घेरिएपछि जून १४ मा अर्जेन्टिनी कमाण्डर जनरल मारियो मेनेन्डेजले आत्मसमर्पण गरे र ७४ दिन लामो यो अघोषित युद्ध समाप्त भयो।
यस छोटो तर भयानक युद्धमा कुल ६५५ अर्जेन्टिनी सैनिक, २५५ बेलायती सैनिक र ३ जना स्थानीय नागरिकले ज्यान गुमाएका थिए। युद्धको पराजयले अर्जेन्टिनाको क्रूर सैन्य शासनको अन्त्य गराई सन् १९८३ मा त्यहाँ लोकतन्त्रको पुनर्बहाली गरायो भने बेलायतमा प्रधानमन्त्री थ्याचरको लोकप्रियता चुलियो, जसका कारण उनी अर्को चुनावमा भारी बहुमतले विजयी भइन्।
सन् १९९० मा दुई देशबीच कूटनीतिक सम्बन्ध सुधार भए पनि सार्वभौमिकताको विवाद अझै सुल्झिएको छैन। सन् २०१३ मा फकल्याण्ड टापुमा भएको जनमत संग्रहमा त्यहाँका ९९ प्रतिशत भन्दा बढी बासिन्दाले बेलायती भूभागकै रूपमा रहने पक्षमा मतदान गरेका थिए। बेलायतले यही जनमतलाई आत्मनिर्णयको अधिकारको आधार मान्दै आएको छ भने अर्जेन्टिनाले टापुमाथिको आफ्नो ऐतिहासिक दाबी अझै कायम रहेको बताउँदै आएको छ।































