विश्वकप २०२६ को तेस्रो स्थानका लागि भिड्दै फ्रान्स र इंग्ल्यान्ड

विश्वकप २०२६ को तेस्रो स्थानका लागि भिड्दै फ्रान्स र इंग्ल्यान्ड

केन्द्रबिन्दु
18
Shares

मियामी । फ्रान्स र इंग्ल्यान्ड शनिबार विश्वकप २०२६ को तेस्रो स्थानका लागि हुने खेलमा भिड्दै छन्। यो दुवै टिमका लागि प्रतियोगिताबाट उदास हुँदै बिदा लिने अवसर हुनेछ। फ्रान्सेली र इंग्लिस टिम भारी मन लिएर फ्लोरिडा आइपुगेका छन्। उनीहरूको मनमा एकै खाले पीडा रहनेछ, सेमिफाइनलमा बेहोरेको हार। एक प्रकारले दुवै टिम घाइते जस्तै छन्।

प्रतियोगिता सेमिफाइनल चरण प्रवेश गर्दा कुनै एक टिम सबैभन्दा राम्रो थियो भने त्यो फ्रान्स नै थियो। तर यही टिम स्पेनले खडा गरेको बलियो रणनीतिसामु धराशायी हुँदै २–० ले नमज्जासँग पराजित रह्यो। इंग्ल्यान्डले भने विश्वकपमा एक अर्को बिर्सनलायक परिच्छेद लेख्नेक्रममा अर्जेन्टिनाको हातबाट २–१ को हार बेहोर्‍यो, त्यो पनि सुरुआती अग्रता लिएर।

अब भने फ्रान्स र इंग्ल्यान्ड दुवैले आफ्ना खेलाडीमा बाँकी रहेको शक्तिसञ्चय गरेर आफूलाई मानसिक र शारीरिक रूपमा बलियो बनाउनुपर्नेछ। त्यस्तो खेलका लागि तयार हुनुपर्नेछ, जुन खेल विश्व फुटबलमै सबैभन्दा मन नपराइएको प्रतिस्पर्धाका रूपमा लिइन्छ। सेमिफाइनल हारलगत्तै इंग्ल्यान्डका प्रशिक्षक थोमस टचेलले भनेका थिए, ‘मलाई लाग्छ, न हाम्रो न त फ्रान्सका खेलाडीमा यो खेललाई लिएर रुचि हुनेछ।’

उनी भन्छन्, ‘फ्रान्सको लक्ष्य फाइनल खेल्नु थियो। हामीले पनि फाइनल प्रवेशका लागि सक्दो गरेकै थियौं। सबैको उद्देश्य विश्वकप जित्नु नै हुने गर्छ, तर सबैले यस्तो अवसर पाउने गर्दैनन्। अबको खेलका लागि फ्रान्सको तुलनामा तयारीका लागि हामीले एक दिन कम पाएका छौं। तर त्यस खेललाई हामीले व्यावसायिक टिमकै रूपमा खेल्नेछौं।’

यस खेलसँगै फ्रान्सेली प्रशिक्षकका रूपमा डिडियर डेसच्याम्पले बिदा लिँदै छन्। टचेलको जस्तै उनको पनि अहिले रणनीतिक निर्णयलाई चर्को आलोचना भइरहेको छ । यस विश्वकप सुरु हुनु अगाडि नै डेसच्याम्पले अब आफूले फ्रान्सेली टिम छाड्ने भनेर घोषणा गरिसकेका थिए। उनले फ्रान्सेली टिममा १४ वर्ष लामो समय बिताए। त्यो सफल पनि रह्यो।

यी ५७ वर्षीय प्रशिक्षकको नेतृत्वमा फ्रान्सले सन् २०१८ मा विश्वकप जितेको थियो भने सन् २०२२ मा कतारमा भएको विश्वकपमा भने उपविजेतामै सीमित हुनुपरेको थियो। अहिले भने टिमको यात्रा अन्तिम चारसम्म रह्यो। उनले सेमिफाइनल हारपछि भनेका छन्, ‘अब हामीलाई तेस्रो स्थानका लागि खेल्नु छ। त्यसमा हामीले सक्दो राम्रो गर्ने प्रयास नै गर्नेछौं।’

उनी थप्छन्, ‘अहिले हामी त्यो स्थितिमा छैनौं, जुन हामी चाहन्छौं। हामी अहिले निराश नै छौं। तर हामीसामु यसलाई स्वीकार्नुबाहेकका अर्को विकल्प पनि छैन। हामीले यो स्थितिमा केही पनि गर्न सक्दैनौं।’

तेस्रो स्थानका यो खेल दुवै टिमका लागि सान्त्वना जित मात्र हुनेछ। तर यही खेल एक अर्को कारणले पनि उत्तिकै उल्लेखनीय रहनेछ। त्यो हो, गोल्डेन बुट अवार्डको होड। फ्रान्सेली कप्तान केलियन एमबाप्पे यस विश्वकपमा संयुक्त रूपमा सर्वाधिक गोलकर्ता सूचीको शीर्षमा छन्। उनीसँगै अर्जेन्टिनी कप्तान लियोनल मेसीले समान ८ गोल गरेका छन्। एमबाप्पेको उद्देश्य इंग्लिस डिफेन्सलाई तोडेर आफ्नो गोल संख्या बढाउने हुनेछ। इंग्ल्यान्डका ह्यारी केन र जुड बेलिङ्घमले पनि समान ६ गोल गरेका छन्, उनीहरू पनि लगभग बढी गोल गर्ने खेलाडी होडमै छन्।

इंग्ल्यान्डका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडी केनका लागि सम्भवतः यो खेल विश्वकपको अन्तिम हुन सक्नेछ। बायर्न म्युनिखका फरवार्ड यसै महिना ३३ वर्षका भए। उनले सन् २०३० को विश्वकपमा सहभागिता जनाउनेबारे आशंका रहेको छ। सेमिफाइनल हारपछि उनले आफ्नो खेल जीवनबारे बोल्न चाहेनन्। उनको तर्क थियो, ‘अहिले नै यसबारे कुरा गर्नु अलि चाँडै होला।’

उनी भन्छन्, ‘अबका प्रत्येक वर्ष कसरी अगाडि बढ्ने हो, त्यसमा धेरैथोक निर्भर हुनेछ। मैले जति समय इंग्ल्यान्डका लागि बिताए, त्यो गर्विलो रह्यो, म सधैं खुसी नै रहें। त्यसैले मलाई लाग्छ, अहिले नै यसलाई यहाँसम्म मात्र भनेर भन्नु हुन्न।’

अर्कोतफै एमबाप्पेका लागि विश्वकपकै सर्वाधिक गोलकर्ता हुने अवसर पनि हुनेछ। उनले विश्वकपमा समग्रमा २० गोल गरिसके। मेसीले २१ गोल गरेका छन्। दुवै टिमले खेलमा के कस्ता खेलाडी उतार्ने हो, त्यसमा पनि यी सबै समीकरण निर्भर हुनेछ। सम्भवतः इंग्ल्यान्डले आफ्नो टिममा फेरबदल गर्न सक्छ, किनभने नियमित खेल खेलका खेलाडी सबै थाकेका छन्। प्रशिक्षक टचेलले सम्भतवः कोबी माइनुलाई डेब्यु अवसर दिन सक्छन्। डेसच्याम्पले अहिलेसम्म यस विश्वकपमा नखेलेका एनगोलो कान्टेलाई मैदान उतार्न सक्छन्।

Logo