काठमाडौं । इंग्ल्यान्डका स्ट्राइकर ह्यारी केनले यो सिजन क्लब र राष्ट्रिय टोलीबाट ७० गोल गरिसकेका छन्। ३२ वर्षे केनको कप्तानीमा इंग्ल्यान्डले तेस्रो पटक विश्वकप खेलेको हो।
तर यसपालि इंग्ल्यान्ड २०१८ को जस्तै सेमिफाइनलभन्दा अगाडि बढ्न सकेन। केनले २०१८ र यस विश्वकपमा ६–६ गोल गरेका छन्। उनले यो सँगै विश्वकप इतिहासमा व्यक्तिगत कुल गोलसंख्या १४ पुर्याएका छन्। उनी सर्वाधिक गोल गर्ने सूचीमा संयुक्त रूपमा पाँचौं स्थानमा छन्।
केनको कप्तानीमा इंग्ल्यान्डले दुई पटक युरो कपको फाइनल खेलेको छ, तर इंग्ल्यान्ड दुवैमा पराजित छ। टोटनहमबाट गोलको वर्षा गर्न सुरु गरेपछि उनी सन् २०१५ मा पहिलो पटक इंग्ल्यान्ड राष्ट्रिय टोलीमा परेका थिए। केनले इंग्ल्यान्डबाट १ सय २१ खेल खेल्दै ८५ गोल गरिसकेका छन्। उनी इंग्ल्यान्डबाट सर्वाधिक गोल गर्ने खेलाडी हुन्।
क्लब र राष्ट्रिय टोलीबाट गरी उनले ५ सय गोल गरिसके। टोटनहमबाट उनले सर्वाधिक २ सय ८० गोल गरेका छन्। उनी तीन सिजनअघि बायर्न म्युनिख लागेका थिए, जहाँ उनले ९४ खेलमा ९८ गोल गरिसकेका छन्। उनी च्याम्पियन्स लिगमा इंग्ल्यान्डबाट सर्वाधिक गोल गर्ने खेलाडी हुन्। उनको नाममा ५४ गोल छ।
केलियन एमबाप्पे (फ्रान्स)
इंग्ल्यान्डसँग तेस्रो स्थानको प्लेअफमा खेल्दा फ्रान्सका स्ट्राइकर केलियन एमबाप्पेसँग अर्को एउटा अवसर हुनेछ, विश्वकप २०२६ को सर्वाधिक गोल गर्ने खेलाडी बन्न। एमबाप्पेले यस विश्वकपमा ८ गोल गरिसकेका छन्। उनी सर्वाधिक गोल गर्ने सूचीमा अर्जेन्टिनाका लियोनल मेसीसँगैं शीर्षस्थानमा छन्।
तर फ्रान्स सेमिफाइनलमा स्पेनसँग पराजित भएपछि एमबाप्पेको गोलको वर्षा ओझेलमा पर्दै आएको छ। फ्रान्सलाई २०१८ मा विश्वकप उपाधि दिलाउने क्रममा एमबाप्पे ४ गोल गर्दै प्रतियोगिताको उत्कृष्ट युवा खेलाडी बनेका थिए।
त्यतिबेला १९ वर्षे उनले पेरुविरुद्ध गोल गर्दै विश्वकपमा गोल गर्ने फ्रान्सका सबैभन्दा कान्छा खेलाडी पनि भए। उनले फाइनलमा क्रोएसियाविरुद्ध पनि गोल गरे। विश्वकप फाइनलमा गोल गर्ने पेलेपछि सबैभन्दा कम उमेरका खेलाडी भए।
सन् २०२२ को विश्वकपमा एमबाप्पेले ८ गोल गरे, त्यसमा अर्जेन्टिनाविरुद्धको फाइनलमा गरेको ३ गोल पनि थियो। उनी विश्वकप फाइनलमा ह्याट्रिक गर्ने दोस्रो खेलाडी हुन्। विश्वकप फाइनलमा उनले ४ गोल गरिसकेका छन्।
यस विश्वकपमा गरेको ८ गोलसहित उनले कुल २० गोल गरिसके। उनी सर्वाधिक गोल गर्ने सूचीमा मेसीको २१ भन्दा १ गोलले मात्र पछाडि छन्। २०१७ मा फ्रान्सको राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरेका एमबाप्पेले कुल १ सय ५ खेल खेल्दै ६४ गोल गरेका छन्। उनी फ्रान्सबाट सर्वाधिक गोल गर्ने खेलाडी हुन्।































