पहिलो इन्डोर सेलिब्रेटी क्रिकेट लिग भब्यताका साथ सम्पन्न, ‘टिम रेन्जर्स’ बन्यो च्याम्पियन

पहिलो इन्डोर सेलिब्रेटी क्रिकेट लिग भब्यताका साथ सम्पन्न, ‘टिम रेन्जर्स’ बन्यो च्याम्पियन

केन्द्रबिन्दु
45
Shares

काठमाडाैं । सेलिब्रेटी क्रिकेट उत्सवको आयोजनामा भएको नेपालकै पहिलो ऐतिहासिक ‘इन्डोर सेलिब्रेटी क्रिकेट लिग’ भब्यताका साथ सम्पन्न भएको छ ।

कला र खेलकुदको नविनतम फ्युजन मानिएको यस प्रतियोगितामा कुल चारवटा टोलीहरू— टिम वारियर्स, टिम रेन्जर्स, टिम टाइटन्स र टिम च्याम्पियन्सबीच कडा प्रतिस्पर्धा भएको थियो। विभिन्न रोमाञ्चक चरणहरू पार गर्दै फाइनल खेलमा टिम टाइटन्स र टिम रेन्जर्स उपाधिका लागि भिडेका थिए।

क्रिकेट एक्सिलेन्स सेन्टरकाे इन्डाेर ग्राउण्डमा शुक्रबार भएकाे फाइनल खेलमा टिम रेन्जर्सले पहिले ब्याटिङ गर्दै निर्धारित १२ ओभरमा टिम टाइटन्स सामु ९५ रनको बलियो चुनौती प्रस्तुत गरेको थियो। ९६ रनको विजयी लक्ष्य पछ्याएको टिम टाइटन्सलाई सस्तैमा समेट्न रेन्जर्सका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे।

बद्री पंगेनीको कप्तानीमा रहेको टिम रेन्जर्सले उत्कृष्ट बलिङ र चुस्त फिल्डिङको मद्दतले विपक्षी टिम टाइटन्सलाई ११ रनले पराजित गर्दै पहिलो इन्डोर सेलिब्रेटी क्रिकेट लिगको ऐतिहासिक च्याम्पियन ट्रफी चुम्न सफल भएको छ । खेलपछि म्यान अफ दी टुर्नामेन्ट पेमा लामा घाेषित भए ।

टिम रेन्जर्सका तर्फबाट खेलेका गायक दुर्गेश थापाले खेलमा सनसनी मच्चाए। उनले टिम च्याम्पियन्सविरुद्ध उत्कृष्ट बलिङ गर्दै एकै ‌ओभरमा महत्वपूर्ण ३ विकेट लिन सफल भए ।

प्रतियोगिताको समापन समारोहमा सेलिब्रेटी क्रिकेट उत्सवका फाउन्डर विवेक खतिवडाले सम्पूर्ण सहभागी टोली, मिडियाकर्मी तथा प्रायोजकहरूलाई धन्यवाद ज्ञापन गरे। आगामी दिनमा आउटडाेर क्रिकेट प्रतियाेगिता गराउने उनकाे भनाइ छ ।

त्यसैगरी, को-फाउन्डर सन्जीव उपाध्यायले खेलमा उत्साहका साथ सहभागी सम्पूर्ण कलाकारहरू प्रति कृतज्ञता प्रकट गरे।

कार्यक्रममा नेपाली क्रिकेट टोलीका पूर्वमुख्य प्रशिक्षक एवं एनपीएल टाेली सुदूरपश्चिम राेयल्सका मुख्य प्रशिक्षक जगत टमाटाकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।

यस ऐतिहासिक इभेन्टलाई सफल बनाउन एईसीसी ग्लाेबल, माेभहिरा इन्टरटेन्मेन्ट, किंग्स बर्गर, हिमालयन प्रिमियम, लक्जरी ट्राभल्स, शुभम विहानी ट्राभल्स एण्ड टुर्स, शुभ बिहानी ट्राभल्स एण्ड टुर्स, जेसिज क्याफे, एक्सट्रिम र लोकेशन नेपाल लगायतका संस्थाहरूले पार्टनरको रूपमा सहयोग गरेका थिए।

Logo