काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले इंग्ल्यान्डका विश्वकप फरवार्ड मोर्गन रोजर्सले मंगलबार बेलायती कीर्तिमानी रकममा अनुबन्धित गरेको छ । उनी एस्टन भिल्लाबाट १५ करोड ६५ लाख डलरमा लन्डन क्लबमा गएका हुन् ।
यसै महिना मात्र म्यानचेस्टर सिटीले १५ करोड ५० लाख डलरमा नटिंघम फरेस्टबाट एलिट एन्डरसनलाई किनेको थियो । प्रिमियर लिगका सबैभन्दा उच्च स्थानान्तर भने एलेक्जान्डर इसाकको नाममा रहेको छ । लिभरपुलले उनका लागि न्युकासल युनाइटेडलाई १६ करोड ७० लाख डलर तिरेको थियो ।
प्रिमियर लिगमा उदयमान फरवार्ड रहेका २३ वर्षीय रोजर्सले चेल्सीसँग सन् २०३३ सम्मका लागि अनुबन्ध गरेका छन् । नयाँ प्रशिक्षकका रूपमा ज्याभी एलोन्सो आएयता चेल्सीले गरेको यो तेस्रो अनुबन्ध हो । यसअघि चेल्सीले मार्को पलेस्ट्रच र जियाभानी क्वेन्डालाई किनेको थियो ।































