काठमाडौं । नेपाली क्रिकेटका पूर्वकप्तान तथा विश्वकीर्तिमानी अलराउन्डर मेहबुब आलम प्रतिष्ठित एसियन लिजेन्ड्स लिगको दोस्रो संस्करणमा अनुबन्ध भएका छन्।
संयुक्त अरब इमिरेट्स (यूएई) को वर्ल्ड स्पोर्ट्स ग्रुपको आयोजनामा हुने प्रतियोगिता जुलाई ३० देखि अगस्ट १० सम्म जाम्बियामा सञ्चालन हुनेछ। प्रतियोगितामा सहभागी हुन आलम जुलाई २९ मा जाम्बियातर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
आलमले प्रतियोगितामा एसियन स्टार्स टोलीको प्रतिनिधित्व गर्नेछन्। उक्त टोलीको नेतृत्व श्रीलंकाका पूर्वकप्तान तिलकरत्ने दिल्शानले गर्नेछन्।
नेपाली क्रिकेट इतिहासका सफल अलराउन्डरमध्ये एक मानिने आलमले सन् २००८ मा आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन–५ अन्तर्गत मोजाम्बिकविरुद्ध अविस्मरणीय कीर्तिमान बनाएका थिए। उनले ७.५ ओभरमा मात्र १२ रन खर्चेर विपक्षी टोलीका सबै १० विकेट आफ्नो नाममा पार्दै विश्व क्रिकेटमा ऐतिहासिक उपलब्धि हासिल गरेका थिए।
सीमित ओभरको अन्तर्राष्ट्रिय क्रिकेटमा एकै खेलमा विपक्षी टोलीका सबै १० विकेट लिने पहिलो खेलाडी बनेपछि आलमको नाम गिनिज वर्ल्ड रेकर्ड्समा समेत दर्ता भएको छ।




















