थाइल्याण्ड जुडोमा नेपाललाई दुई कांस्य पदक

थाइल्याण्ड जुडोमा नेपाललाई दुई कांस्य पदक

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, १५ साउन ।

थाइल्याण्डमा जारी थाइल्याण्ड इन्टरनेसनल नर्थ बैंकक युनिभर्सिटी जुडो च्याम्पियनसिप २०१७ मा नेपाली खेलाडीहरू इन्द्रबहादुर श्रेष्ठ र उमेश मगरले कांस्य पदक प्राप्त गर्न सफल भएको प्रशिक्षक सूर्य नारायण श्रेष्ठले जनाएका छन् ।

नौ राष्ट्रका खेलाडी सहभागी रहेको ६६ केजी तौल समूहमा खेलमा इन्द्रले फिलिपिन्सका मेरालेस नाथानिइललाई २.२० सेकेन्डमा वाजारी र इप्पनमा पराजित गर्दै कांस्य पदक प्राप्त गर्न सफल भएको प्रशिक्षक श्रेष्ठले जनाएका छन् । इन्द्रले पहिलो चरणमा आयोजक थाइल्याण्डका फुयनसुक कवेतलाई १.२२ सेकेन्डमा वाजारी इप्पन स्कोरमा पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेका थिए ।

इन्द्रले क्वाटरफाइनलमा हंगकंगका खेलाडी चोइसिङ योङ्गलाई वाजारी इप्पनमा पराजित गरेका थिए भने सेमिफाइनलमा युएइका खेलाडी ओक्सिवाई अलिखानसँग पूरा समय खेल्दै वाजारीको आधारमा पराजित भएका थिए ।

यस्तै, ६० केजी तौल समूहमा उमेश मगर क्यामरुनका खेलाडीसँग पराजित हुँदै कांस्य पदक प्राप्त गर्न सफल भए । उनी पहिलो चरणको खेलमा थाइल्याण्डका खेलाडी जाइवान कुराकोरनलाई वाजारी इप्पनमा पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेका थिए ।

उमेशले क्वाटरफाइनलमा भियतनामी खेलाडी न्गुयन होङ्गसँग गोल्डेन स्कोरमा पराजित भइ रिपाचेजमा थाई खेलाडीबाट वाकओभर प्राप्त गर्दै क्यामरुनका खेलाडीसँग प्रतिस्पर्धा गरेका थिए । क्यामरुनका खेलाडीसँग पूरा समय प्रतिस्पर्धा गर्दा १ सिदो पाएका उनले गोल्डेन स्कोरमा अर्को सिदो पाउँदा खेललाई आफ्नो हातबाट फुस्काएका थिए ।

यसैगरी महिला ५७ केजीमा मनिता श्रेष्ठ प्रधान थाइल्याण्डकी खेलाडी वारासिहा युरिकोसँग इप्पनमा पराजित भएको थाइल्याण्डबाट प्रशिक्षक श्रेष्ठले जानकारी गराए ।

Logo