केन्द्रबिन्दु डेस्क । काठमाडौं, १५ साउन ।
अमेरिकी भूमिमा पहिलोपटक दुई स्पेनिस फुटबल क्लब –बार्सिलोना र रियल मेड्रिड– बीच एल क्लासिको म्याच आफ्नो नाम र स्तरअनुकूल शनिबार राती (नेपाली समयअनुसार आइतबार बिहान) सानदार ढंगले सम्पन्न भयो । फ्लोरिडा राज्यको मायामीमा अवस्थित हार्ड रक गार्डेन स्टेडियममा भएको ‘मायामी एल क्लासिको’ म्याचमा बार्सिलोनाले क्रिस्टियानो रोनाल्डोबिना खेल्न उत्रिएको रियल म्याड्रिडलाई ३–२ गोलअन्तरले पराजित गर्यो ।
खेलको ५०औं मिनेटमा जेरार्ड पिकेले गरेको गोल नै म्याचको विजयी गोल साबित भएको थियो । उनले नेयमारले दिएको सटीक पासलाई सुन्दर गोलमा परिणत गरेका थिए ।
पिकेको गोलसँगै बार्सिलोनाले ‘२०१७ इन्टरनेसनल च्याम्पियन्स कप’ उपाधि पनि जित्यो ।
शनिबार रातीको फिनाले गौरवपूर्ण मैत्रीपूर्ण खेलका रूपमा खेलिन सक्थ्यो तर रियल मेड्रिड र बार्सिलोनाले कुनै ठुलै पुरस्कारका लागि झैं तीव्र प्रतिस्पर्धात्मक खेल प्रदर्शन गरे ।
म्याचमा पहिलो सनसनी खेल सुरु भएको तेस्रो मिनेटमै उत्पन्न भएको थियो जतिबेला लियोनेल मेसीले मेड्रिड सुरक्षापंक्तिलाई छल्दै बायाँ खुट्टाले आकर्षक गोल गर्दै बार्सिलोनालाई १–० ले अगाडि बढाए ।
त्यसको केही मिनेटपछि नै इभान राकिटिकले गोल थप्दै अग्रतालाई २–० पुर्याए ।
पहिलो दश मिनेटभित्रै दुई गोलले पछाडि परे पनि ‘लस ब्लाङकोस’ ले आफ्नो कम्पोजर कायमै राखे र जोडदार काउन्टर दिँदै मध्यान्तरसम्म स्कोरलाई २–२ गोलको बराबरी स्थितिमा पुर्याए ।
पहिलो गोल माटेओ कोभासिकले १४ औं मिनेटमा गरे भने ३६औं मिनेटमा क्लिनिकल काउन्टर–अट्याकमा मार्को एसेनसिओले बायाँ खुट्टाको प्रहारले सानदार गोल गर्दै स्कोर बराबरीमा पुर्याएका थिए ।
बार्सिलोनासँग त्यसको जवाफ लगभग तयार थियो । फ्रान्सको पेरिस सेन्ट–जर्मैन (पिएसजी) क्लबमा अनुबन्धित हुन जाने भनेर चर्चा भइरहेका नेयमारले दोस्रो हाफको पाँचौं मिनेटमा रियल मेड्रिडको गोलपोस्टतिर सटीक पास दिए जसलाई पिकेले सहजै दायाँ खुट्टाको प्रहारले गोलमा परिणत गरिदिए । त्यही गोल म्याचको निर्णायक गोल बन्न पुग्यो ।
मेड्रिडले खेलको बाँकी समयभरि गोल फर्काउने खतरा देखाइरह्यो तर बार्सिलोनाका गोलकिपर ज्यास्पर सिलेसन पर्खाल झैं उभिरहे र रियल मेड्रिडका सबै प्रयास असफल तुल्याइदिए ।
म्याच समाप्त भइसकेपछि रियल मेड्रिड अझ केही दिन अमेरिकामै रहने छ र उसले अमेरिकी फुटबल लीग (मेजर लिग सकर÷एमएलएस) को रोजा खेलाडीहरूको टिम ‘एमएलएस अल–स्टार्स’ टिमविरुद्ध सिकागोस्थित सोल्जर फिल्डमा अगस्त २ मा म्याच खेल्ने छ ।
बार्सिलोनाको प्रिसिजन अगस्त ७ मा समाप्त हुनेछ जतिबेला उसले फर्किएर घरेलु मैदान क्याम्प नोऊमा क्यापेकोइन्सेविरुद्धको म्याचमा भिड्ने छ ।
(एजेन्सीको सहयोगमा)































प्रतिक्रिया