त्रिदेशिय फुटबल आजबाट, उद्घाटन खेलमा बंगलादेश र किर्गिस्तान भिड्दै

त्रिदेशिय फुटबल आजबाट, उद्घाटन खेलमा बंगलादेश र किर्गिस्तान भिड्दै

केन्द्रबिन्दु
0
Shares

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने त्रिदेशिय प्रतियोगिता आजबाट सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा बंगलादेश र किर्गिस्तान भिड्दै छन् । 

प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुदमन्त्री दावा लामाले गर्ने एन्फाले जनाएको छ । खेल मंगलबार साँझ साढे ५ बजेदेखि हुँदैछ । ७२ सालको भूकम्पपछि एन्फाले दशरथ रंगशालामा गर्न लागेको यो पहिलो प्रतियोगिता समेत हो । यस अघि रंगशालामा दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता आयोजना भएपनि सो प्रतियोगिता एन्फाले गरेको थिएन ।

बुधबार नेपालले पहिलो खेलमा किर्गिस्तानसँग खेल्नेछ । नेपाली टोलीको कप्तानी गोलरक्षक किरण चेम्जोङले गर्नेछन् । भारतीय आई लिग छोडेर किरण नेपाल आईसकेका छन् । चैत १४ गते दोस्रो खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ । 

यस्तै एन्फाले सोमबार विज्ञप्ति जारी गर्दै फुटबल हेर्न आउने दर्शकहरुलाई मास्क र सेनिटाइजर अनिवार्य गरिएको छ । कोरोना भाइरसको महामारीको खतरा देखिएको उल्लेख गर्दै स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार मास्क र सेनिटाइजर अनिवार्य गरिएको एन्फाले जनाएको छ । प्रवक्ता किरण राईका अनुसार दर्शकका लागि तापक्रम नाप्ने, सेनिटाइजर अनिवार्य लगाउनुपर्ने, भौतिक तथा सामाजिक दुरी कायम गर्ने र मास्क अनिवार्य प्रयोग गर्ने सहितका मापदण्ड अनिवार्य गरेको छ।

कोरोनाका कारण अन्तर्राष्ट्रिय फुटबलको गतिविधि शून्य रहेको अवस्थामा एन्फाले त्रिदेशिय प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा नेपालसहित बंगलादेश र किर्गिस्तान सहभागी छन् । विश्वकप छनोट अन्तर्गत अष्ट्रेलिया विरुद्धको घरेलु खेल स्थगित बनेपछि एन्फाले विदेशी टोली बोलाएर त्रिदेशिय प्रतियोगिताको आयोजना गरेको हो । 

राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् । फाइनल खेल चैत १६ गते हुनेछ ।

Logo