मोफसलकै चर्चित राष्ट्रिय फुटबल प्रतियोगिता आहा रारा गोल्डकपको उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरा र नेपाल एपीएफबीच प्रतिस्पर्धा हुने भएको छ।
आयोजक सहारा क्लब पोखराले बुधबार पत्रकार सम्मेलन गर्दै १९ औं संस्करणको उद्घाटन खेलमा आयोजक र एपीएफ भिड्ने जनाएको छ। पोखरा रंगशालामा हुने प्रतियोगिता चैत २१ देखि २८ गतेसम्म सञ्चालन हुनेछ।
प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैँयाँ हात पार्नेछ भने उपविजेता टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ। व्यक्तिगत विधातर्फ सूर्यबहादुर केसी मेमोरियल उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगितामा स्वदेशी तथा विदेशी गरी कुल ८ वटा टिमको सहभागिता रहेको छ। यस संस्करणमा नेपाल आयल निगम मनाङ मस्याङ्ग्दी क्लब, नेपाल पुलिस क्लब, रुस्लान थ्री स्टार क्लब, नेपाल एपिएफ क्लब, संकटा क्लब, मछिन्द्र क्लब, अफ्रिकन रूट एसोसिएसन क्यामरुन र सहारा क्लब पोखराको सहभागिता रहेको छ।
गत संस्करणमा मनाङ मस्याङ्ग्दीले नेपाल पुलिसलाई हराएर उपाधि जितेको थियो। आयोजकले दर्शकको लागि टिकटदर समेत राखेको छ। क्वाटरफाइनल खेलका लागि १ सय ५०, सेमिफाइनल खेलका लागि २ सय र फाइनल खेलका लागि ३ सय टिकटदर राखिएको छ।































प्रतिक्रिया