कप्तान रुबिना क्षेत्रीको उत्कृष्ट ब्याटिङको मद्दतमा प्रदेश १ ले राजधानीमा जारी ललितपुर मेयर कप महिला ट्वान्टी–२० प्रतियोगितामा पहिलो जीत निकालेको छ।
कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा प्रदेश १ ले लुम्बिनी प्रदेशमाथि १० विकेट जीत निकाल्दै जारी प्रतियोगितामा पहिलो जीत निकालेको हो। यस अघि भएको पहिलो खेलमा प्रदेश १ विभागीय टोली एपिएफसँग पराजित भएको थियो।
लुम्बिनी प्रदेशले दिएको १ सय ५ रनको लक्ष्य प्रदेश–१ ले १३.२ बलमा बिना विकेटको क्षतिमा पूरा गर्दै शानदार जीत निकालेको हो । प्रदेश–१ को जीतमा कप्तान रुबिना क्षेत्रीले अर्धशतकीय इनिङ्स खेलिन। रुबिना ६८ रनमा अविजित रहि भने उनलाई काजल श्रेष्ठले व्यक्तिगत २५ रनको योगदान गर्दै जीत निश्चित बनाइन्। अर्धशतकीय इनिङ खेलेकी रुविनाले ४९ बलको सामना गर्दा १२ चौका र १ छक्का प्रहार गरेकी हुन्।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा २ विकेट गुमाएर १ सय ४ रन बनाएको थियो। लुम्बिनीका लागि सरस्वती मगरले ५० रनको अर्धशतकीय इनिङ्स खेलिन्। नेरी थापाले अविजित २० रन जोडिन। यस्तै नितु भण्डारी १८ रनमा आउट हुँदा वर्षा राना शून्यमा पवेलियन फर्किएका थिए।
प्रदेश–१ की शबनम राईले एक विकेट लिइन् । जीतसँगै प्रदेश–१ ले २ खेलमा २ अंक जोडेको छ। पराजित लुम्बिनीको यो लगातार दोस्रो हार हो। पहिलो खेलमा लुम्बिनी ललितपुर मेयर्स–११ सँग २७ रनले पराजित भएको थियो।
प्रतियोगितामा मंगलबार दुई खेल हुनेछन् । पहिलो खेल ललितपुर मेयर्स–११ र एपिएफ तथा दोस्रो खेल प्रदेश–१ र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।





























प्रतिक्रिया