विभागीय टोली एपिएफले ललितपुर मेयर्स कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा विभागीय टोली एपिएफले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गर्दै उपाधि उचालेको हो। विजयी एपिएफले सम्पन्न प्रतियोगितामा अपराजित यात्रालाई अन्तिम खेलमा पनि निरन्तरता दिँदै उपाधि उचाल्न सफल भएको हो।
सुदूरपश्चिम प्रदेशले प्रस्तुत गरेको १ सय ७ रनको लक्ष्य एपिएफले २२ बल बाँकी छँदै भेटाउन सफल भएको थियो। खेलमा ओपनर ज्योति पाण्डेले ३६ रनको योगदान गर्दा कप्तान सीता राना मगरले २७ रनको पारी खेलिन्। इन्जु बर्मा र ममता चौधरीले क्रमशः अविजित १९ र १५ रन जोड्दै टोलीलाई जीततर्फ डोर्याएका थिए। ओपनरद्वय ज्योति र सीताराना मगर दुबै रन आउट भएका थिए।
यस अघि पुरै २० ओभर खेल्दै सुदूर पश्चिमले ७ विकेट गुमाएर १ सय ६ रन जोडेको थियो। सर्वाधिक ४४ रन जोडेकी विन्दु रावल अविजित रहँदा डोली भट्टले १४ तथा रेवती धामीले १० र कविता कुँवरले १३ रन जोडेका थिए। यस्तै अन्य खेलाडीले भने एपिएफको कसिलो बलिङ सामु राम्रो स्कोर सकेनन्। एपिएफका लागि विनु बुढा, सीता राना मगर, सुष्मा श्रेष्ठ, करुणा भण्डारी र रेखा रावलले समान एक÷एक विकेट आफ्नो नाममा लेखाए।
सहज जीत निकालेको विजेता एपीएफले ३ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्यो। यस्तै उपविजेता बनेको सुदूपश्चिमले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो। पाँच टोलीले सहभागिता जानाएको प्रतियोगितामा उत्कृष्ट ब्याट्स वुमन प्रदेश १ की रुविना क्षेत्री चुनिँदा उत्कृष्ट बलर विनु बुढामगर घोषित भइन्। यस्तै विजयी टोलीकी कप्तान सीता राना मगर प्रतियोगिताको उत्कृष्ट खेलाडी बनिन्। उत्कृष्ट ब्याट्स वुमन र बलरले जनही १५ हजार रुपैंयाँ पाउँदा सर्वोत्कृष्ट सीताले नगद २५ हजार रुपैंयाँ पारिन्।





























प्रतिक्रिया