त्रिकोणात्मक टी–ट्वान्टी: कुशल भूर्तेलको अर्धशतकमा नेपालको लगातार दोस्रो जीत

त्रिकोणात्मक टी–ट्वान्टी: कुशल भूर्तेलको अर्धशतकमा नेपालको लगातार दोस्रो जीत

केन्द्रबिन्दु
0
Shares

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले लगातार दोस्रो जीत हात पारेको छ। 

मलेसियालाई ९ विकेटले पराजित गर्दे नेपालले लगातर दोस्रो जीत निकालेको हो । मलेसियाले दिएको १ सय १० रनको लक्ष्य नेपालले १२ ओभर १ बलमा १ विकेटको क्षति व्यहोर्दै पूरा गरेको हो । 

नेपालको जितका लागि कुशल भुर्तेलले अर्धशतकीय इनिङ्स खेल्दै नायक बने । कुशलले अविजित रहदै ६१ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । उनले ४१ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै ६१ रनको योगदान दिए । नेदरल्यान्ड्सविरुद्धको खेलमा टी–ट्वान्टी अन्तर्राष्ट्रियमा डेब्यु गरेका उनको यो लगातार दोस्रो अर्धशतक हो। 

त्यस्तै नेपालको सहज जितका लागि अर्का ओपनर आसिफ शेखले ४२ रन जोडे । उनले २९ बलमा ४ चौका र एक छक्का प्रहार गर्दै ४२ रन जोडे । उनी १२ ओभरको पहिलो बलमा लामो सट खेल्ने क्रममा कभरमा अनवर रहमानको हातबाट क्याच आउट भए।

आसिफ र कुशलले १ सय २ रनको साझेदारी खेले । उपकप्तान दिपेन्द्र सिंह ऐरी ६ रनमा अविजित रहे । नेपालका लागि करण केसीले सर्वाधिक ३ विकेट लिए । त्यस्तै सन्दीप लामिछानेले २ तथा सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, शाहब आलम र कुशल मल्लले १/१ विकेट लिए।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले १६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ९ रन बनाएको थियो।  खराब सुरुवात गरेको मलेसियाले दोस्रो ओभरको चौथो बलमा पहिलो विकेट गुमाएको थियो। 

दोस्रो जितसँगै नेपालले २ खेलमा ४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। नेपालले पहिलो खेलमा नेदरल्यान्ड्सलाई हराएको थियो। मलेसियाको भने यो लगातार दोस्रो हार हो। पहिलो खेलमा मलेसिया नेदरल्यान्ड्ससँग पराजित भएको थियो।

Skip This
Skip This
Logo