चेन्नईमाथि मुम्बईकाे जित

चेन्नईमाथि मुम्बईकाे जित


इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा चेन्नई सुपर किंग्समाथि मुम्बई इन्डियन्सले ४ विकेटको रोमाञ्चक जित हात पारेको छ । जितका लागि २१९ रनको विशाल विजयी लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।

मुम्बईलाई ओपनर रोहित शर्मा र क्विन्टन डी ककले ७.४ ओभरमा ७१ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । एक ओभर पछि स्पिनर रविन्द्र जडेजाको बलमा इनसाइड एज लागेर विकेटकिपर महेन्द्रसिंह धोनीबाट सूर्यकुमार यादव ३ रनमा आउट हुन पुगेका थिए । त्यसको एक ओभरपछि रविन्द्र जडेजाले ओपनर क्विन्टन डी ककलाई ३८ रनमा कट एण्ड बोल्ड आउट गरेका थिए । डि ककले २८ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।

त्यसपछि पोलार्डले विष्फोटक ब्याटिङका साथ खेललाई रोमाञ्चक बनाएका थिए । अलराउन्डर काइरन पोलार्डले ३४ बलमा ८७ रनमा अविजित रहँदै जित दर्ता गरेकाे हाे । पोलार्डले १७ बलमै अर्धशतक पूरा गरेका थिए । हार्दिक पान्ड्या ७ बलमा १६ रनमा आउट भए । साम करनले १९ औं ओभरमा हार्दिक पान्ड्या र जेम्स निसमलाई आउट गर्दै खेललाई रोमाञ्चक बनाएका थिए ।

चेन्नईका साम करनले ४ ओभरमा ३४ रन खर्चेर ३ विकेट लिए । शार्दूल ठाकुर, रविन्द्र जडेजा र मोईन अलीले १–१ विकेट लिए ।

त्यसअघि अरुण जेटली स्टेडियम दिल्लीमा टस हारेर पहिला ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २१८ रन बनाएको थियो । मुम्बईका काइरन पोलार्डले २ ओभरमा १२ रन खर्चेर २ विकेट लिए । जस्प्रित बुमराहले ४ ओभरमा ५६ रन खर्चेर १ विकेट लिए । 

Logo