आजदेखि युरोकप सुरुः कसकाे सम्भावना कति? (खेल समूह र तालिकासहित)

आजदेखि युरोकप सुरुः कसकाे सम्भावना कति? (खेल समूह र तालिकासहित)

केन्द्रबिन्दु
0
Shares

सन् २०२० का लागि निर्धारण गरिएको युरोकप कोभिड–१९ महामारीका कारण हुन सकेको थिएन। संसारभरका फुटबल प्रेमीहरूको लामो प्रतिक्षापछि युरोपेली च्याम्पियनसिप अर्थात् युरोकप आजबाट सुरु हुँदैछ। आज इटालीको राजधानी रोममा हुन गइरहेको टर्की र इटालीको म्याचबाट युरोकपको उद्घाटन हुँदैछ।

६० वर्षदेखि चल्दै आएको युरोकपको यस १६ औं संस्करणमा जम्मा २४ टिमले प्रतिस्पर्धा गर्दैछन्। सहभागी २४ मध्ये ९ टिमले विगतमा विजय हासिल गरिसकेका छन्। प्रतियोगिता ११ देशका विभिन्न मैदानहरूमा हुन गइरहेको छ।

कस्तो छ समय तालिका?
एक महिना चल्ने च्याम्पियनसिपमा परम्परागत फम्र्याटमै समूह चरणबाट १६ टिमको छनौट गरी प्रतिस्पर्धा गराइनेछ। जसबाट छानिएका ८ टिमले क्वार्टर फाइनलमा प्रतिस्पर्धा गर्नेछन्। त्यसबाट छानिएका ४ टिम मध्ये २ सेमिफाइनलबाट निस्कनेछन्। अन्तिममा बाँकी रहने २ टिमबीच उपाधीका लागि प्रतिस्पर्धा हुनेछ। 

युरोकपको समय तालिका यस प्रकार हुनेछः 

समूह चरणः जुन ११–जुन २३
राउन्ड अफ सिक्सटिनः जुन २६–जुन २९
क्वार्टर फाइनलः जुलाई २–जुलाई ३
सेमिफाइनलः जुलाई ६–जुलाई ७
फाइनलः जुलाई ११

कस्तो छ समूह विभाजन?
२४ टिमलाई चार–चारका दरले ६ वटा समूहमा विभाजन गरिएको छ। समूह विभाजन यस प्रकार रहेको छः

समूह एः इटाली, टर्की, स्वीजरल्याण्ड, वेल्स
समूह बीः बेल्जियम, डेनमार्क, रसिया, फिनल्याण्ड
समूह सीः नेदरल्याण्ड्स, अष्ट्रिया, युक्रेन, म्यासेडोनिया
समूह डीः इंग्ल्याण्ड, क्रोएसिया, चेक रिपब्लिक, स्कटल्याण्ड
समूह ईः स्पेन, पोल्याण्ड, स्वीडेन, स्लोभाकिया
समूह एफः जर्मनी, फ्रान्स, पोर्चुगल, हंगेरी

कसले जित्ला युरोकप?
स्पोर्ट्स इलस्ट्रेटेड (एस्आई) का जोनाथन विल्सनले गरेको एक प्रक्षेपणका अनुसार इटाली, बेल्जियम, युक्रेन, इंग्ल्याण्ड, स्पेन र फ्रान्सको समूह चरणको विजेता हुनेछन्।

त्यस्तै उनले फाइनलमा फ्रान्स र स्पेन भिड्ने र फ्रान्स विजयी हुने बताएका छन्। 

उनका अनुसार फ्रान्सको मूख्य खेल समूहचरणकै हुनेछ। समूहचरणमा बलियोरूपमा प्रस्तुत हुन सक्ने फ्रान्सले युरोकप जित्ने उनको ठहर छ। जर्मनी, फ्रान्स, पोर्चुगल, हंगेरी रहेको समूह एफलाई यस युरोकपमा विशेषरूपले हेरिएको छ। फ्रान्स २०१८ को विश्वकप विजेता हो भने जर्मनी २०१४ को विश्वकप विजेता हो। त्यसैगरी पोर्चुगल युरोकपको डिफेन्डिङ च्याम्पियन हो। पोर्चुगल, फ्रान्स र जर्मनी एउटै समूहमा रहेकाले एक पूर्व विजेता समूह चरणबाटै बाहिरिन सक्ने पनि सम्भावना छ। 

स्पोर्ट्स इलस्ट्रेटेडसँग कुरा गर्दै ब्रायन स्ट्रसले फाइनलमा फ्रान्स र बेल्जियम भिड्ने र फ्रान्स विजयी हुने बताएका छन्। त्यस्तै एन्ड्रिउ गास्टेलमले पनि फाइनलमा फ्रान्स र बेल्जियम भिड्ने र फ्रान्स विजयी हुने नै बताएका छन्। अवी क्रेडिटर भने फाइनलमा साविकको विजेता पोर्चुगल र बेल्जियम भिड्ने र बेल्जियम विजयी हुने आँकलन गरेका छन्। 

विश्वकप विजेता र साविकको युरोकप उपविजेता फ्रान्स, साविकको विजेता पोर्चुगल, सर्वाधिक ३ पटक युरोकप जितेका जर्मनी र स्पेनका साथै बेल्जियम उपाधीका प्रमुख दाबेदारको रुपमा देखा परेका छन्। त्यस्तै ‘द एनालिस्ट’ ले गरेको तथ्यांक विश्लेषणका अनुसार पनि फ्रान्सले जित्ने सम्भावना बढी रहेको देखाएको छ। फ्रान्स विजयी हुने सम्भावना २०.५ प्रतिशत, बेल्जियमको १५.७ प्रतिशत, स्पेनको ११.३ प्रतिशत, जर्मनीको ९.८ प्रतिशत र पोर्चुगलको ९.६ प्रतिशत रहेको आँकलन ‘द एनालिस्ट’ ले गरेको छ।  

अहिलेसम्म युरोकप जित्न नसकेको तर हाल विश्व वरीयताको शीर्ष स्थानमा रहेको बेल्जियमले यस युरोकपमा महत्वपूर्ण रहेको यी प्रक्षेपणहरूले देखाउँछन्। 

डेनमार्क र नेदरल्याण्ड्स २०१६ को प्रतियोगितामा छनौट हुन नसके पनि यस पटक पुनरागमन गरेका छन्। युरोपेली राष्ट्रहरूबीच फुटबलमा कडा प्रतिस्पर्धा हुँदै आएका कारण इंग्ल्याण्ड, एक पटकको विजेता इटाली, डेनमार्क र नेदरल्याण्ड्सलाई पनि कम आँक्न भने नसकिने स्थिति छ। सन् २०१८ मा फ्रान्सले विश्वकप जित्दा उपविजेता भएको क्रोएसियाले पनि बाजी नमार्ला भन्न सकिने अवस्था छैन।

Logo